गाउँपालिकाका जनप्रतिनिधिहरुको भनाई

गाउँपालिका अध्यक्ष

पहिलो प्रकाशित दस्तावेजको रूपमा आउन लागेको पाश्र्वचित्र छोटो समयमै तयारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।

राज्यको पुनर्संरचनाको सिलसिलामा स्थापित यस गाउँपालिकाको यथार्थ विद्यमान अवस्था झल्काउने पाश्र्वचित्र तयारीले गाउँको विकासको वर्तमान अवस्थालाई चित्रित गरेको छ । यस्तो चित्रणले आगामी दिनमा हामीले तर्जुमा गर्नुपर्ने नीति तथा कार्यक्रमहरूलाई प्राथमिकीकरण गरी हामीलाई उपलब्ध सीमित श्रोत तथा साधनको अधिकतम सदुपयोग गरी गाउँ विकासलाई गति प्रदान गर्न अवश्य पनि सहयोग पु¥याउने आशा तथा विश्वास लिएको छु । यस अध्ययन प्रतिवेदनले प्रायः सबै क्षेत्र तथा वस्तुगत यथार्थलाई समेट्न प्रयास गरेको भएता पनि सीमित समय तथा स्रोत साधनको सीमाभित्र गरिएको अध्ययन आफैमा पूर्ण हुन सक्दैन । यसलाई समय सन्दर्भअनुसार परिष्कृत र परिमार्जित गर्ने दायित्व हाम्रो काँधमा आएको महशुस हामी सबैले गर्नु पर्ने हुन्छ ।

योजनावद्ध विकासको आधारको रूपमा रहने यो पाश्र्वचित्र समयमै तयार गर्न लगाउँने गाउँ कार्यपालिकाको सम्पूर्ण टिम, कार्यकारी अधिकृत तथा अन्य वडा तहमा महत्वपूर्ण जिम्मेवारी पुरा गर्ने कर्मचारी एवं निर्वाचित जनप्रतिनिधि लगायत तथ्याङ्क उपलब्ध गराउने सम्पूर्ण विषयगत कार्यालय, संघसंस्था तथा अन्य सबैमा गाउँपालिकाको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । यसै गरी यो अध्ययन प्रतिवेदन समयमै सम्पन्न गर्ने इन्जीनियरको घर प्रा. लि. जडिबुटी काठमाडौँलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

अन्तमा गाउँको विकासको आधार चित्र कोर्न यो प्रतिवेदन सहयोगी बनोस र दीर्घकालिन सोचका साथ अगाडि बढ्न हामी सबैलाई दिशा निर्देश प्राप्त होस् भन्ने सुभेच्छा प्रकट गर्दछु ।






गाउँपालिका उपाध्यक्ष

दिगो र योजनाबद्ध विकासलाई अगाडि बढाउनका लागि गाउँको समग्र तथ्याङ्क आवश्यक पर्दछ । यसै आवश्यकतालाई मध्य नजर गरी गाउँपालिकाको पाश्र्वचित्र तयार गरिएको छ । जसमा गाउँपालिकाका विभिन्न विषय समावेश गरिएको श्रोत नक्साहरू, विषयगत कार्यालयहरूबाट सङ्कलन गरिएका तथ्यहरूमा आधारित भई उपलब्ध भएसम्मका कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वन, सिंचाई, खानेपानी, विद्युत आदिका तथ्याङ्क समावेश गरी गाउँ पाश्र्वचित्र तयारी गरिएको छ ।

यस गाउँपालिकाको अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, योजना निर्माणकर्ता तथा गाउँवासीहरूलाई पाश्र्वचित्रले सूचना प्रदान गर्न सहयोग पुग्ने छ भन्ने मैले आशा लिएकी छु । पाश्र्वचित्रमा उल्लेखित विवरणमा गाउँको राजनैतिक तथा प्रशासनिक विवरण छुट्टिने नक्सा, भू–वर्गीकरण तथा भू–उपयोग नक्साका साथै राष्ट्रिय जनगणना २०६८ का विविध पक्षहरू समावेश गरिएको छ ।

अन्तमा प्रस्तुत पाश्र्वचित्र तयारी गर्ने सिलसिलामा सूचना संकलन गर्न प्रत्यक्ष र परोक्षरूपमा सहयोग गर्नु हुने सम्पूर्ण विषयगत कार्यालय, संघ/संस्था, सामाजिक परिचालक, वडा सचिवहरू, गाउँ कार्यपालिकाका कर्मचारीहरू, कार्यकारी अधिकृत तथा शुरुदेखि तथ्याङ्क संकलन, प्रसोधन गरी पाश्र्वचित्रलाई यो रुप दिनुहुने परामर्शदाता इन्जीनियरको घर प्रा. लि. जडिबुटी काठमाडौँलाई विशेष धन्यबाद दिन चाहन्छु ।







प्रमुख प्रशासकीय अधिकृत

यस नेचासल्यान गाउँपालिका सोलुखुम्बूको आ व २०७५।०७६ को स्वीकृत वार्षिक कार्यक्रममा समेटिएको नेचासल्यान गाउँपालिकाको पार्श्वचित्र तयारीको काम सम्पन्न भएकोमा खुशी लागेको छ ।

यस पार्श्वचित्रमा यस गाउँपालिकाको भौगोलिक अवस्था¸ जनसंख्या विवरण¸ शिक्षा¸ स्वास्थ्य¸ संचार¸यातायात¸ खानेपानी¸ धर्म¸ जातजाति¸ प्राकृतिक सम्पदा¸ वन तथा वातावरण¸ हावापानी¸ नदी नाला¸प्रकोपको विषय र सम्भाव्य क्षेत्र¸ कृषि लगायत विविध क्षेत्रको उत्पादनको अवस्था¸ पशुपालन¸ रोजगारी लगायत विविध विषयको तथ्याङ्क सहितको विवरण समेटिएको छ । यसमा प्रत्येक घरको घरमुलीको नाम र परिवार संख्याको विवरण समेत समेटिएको छ ।

यस पार्श्वचित्रमा यस गाउँपालिकाको विगतदेखि वर्तमान सम्मको वस्तुस्थिति समेटिएको छ । यस पार्श्वचित्रले आगामी दिनको नीति निर्माण गर्न र सोको कार्यान्वयन गर्न यसको महत्वपूर्ण भूमिका रहनेछ । गाउँपालिका तथा मातहत वडा कार्यालयहरुले आम जनतालाई प्रवाह गर्ने सेवाको गुणस्तर अभिबृद्धिमा समेत यस पार्श्वचित्रले थप सहयोग गर्नेछ ।

यस पार्श्वचित्रमा सवै वडाका घरमुलीहरुको नाम र परिवार संख्या लगायत विवरण समेटिएको हुँदा गाउँपालिका र वडा कार्यालयबाट नेपाली नागरिकता बनाउने लगायत विषयमा गरिने सिफारिसका काम तथा जन्म¸ विवाह¸ मृत्यु जस्ता व्यक्तिगत घटना दर्ता जस्ता विविध काममा वास्तविक सेवाग्राहीको पहिचान गरी सहज रुपमा सेवा प्रवाह गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ । साथै प्राकृतिक तथा गैरप्राकृतिक विपद्का बेला प्रकोप प्रभावित व्यक्तिहरुको पहिचान गर्न र प्रकोपमा परेका व्यक्तिहरुको लागि गरिने राहत¸ उद्दार र पुनर्स्थापनाका काममा समेत सहज हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

यस पार्श्वचित्रमा नेचासल्यान गाउँपालिकाको समग्र वस्तुस्थितिको विवरण समेटिएको हुँदा नेचासल्यान क्षेत्रको विविध विषयका बारे जानकारी लिने अनुसन्धानकर्ता¸ विद्यार्थी लगायत सम्पूर्ण व्यक्तिहरुका लागि यो पार्श्वचित्र उपयोगी हुनेछ ।

यस पार्श्वचित्र तयारीका लागि यस नेचासल्यान गाउँपालिकाको कार्यालयसँग सम्झौता गरी कार्य आरम्भ गरी समयसीमाभित्र नै कार्य सम्पन्न गरी सबैका लागि उपयोगी प्रतिवेदन तयार गर्ने ईन्जिनियरको घर प्रा लि काठमाडौंका ईन्जिनियर श्री ईशु मैनाली लगायत उक्त संस्थाको सम्पूर्ण टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथै यो पार्श्वचित्र तयार गर्न अमूल्य सुझाव तथा मार्गदर्शन दिनु हुने यस नेचासल्यान गाउँपालिकाका अध्यक्ष श्री डुफकुमार वास्तोलाज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि पदाधिकरीहरु प्रति तथा सम्पूर्ण कर्मचारी मित्रहरु र सम्पूर्ण जनसमुदाय प्रति अन्तर्हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

धन्यवाद

टंकनाथ घिमिरे
प्रमुख प्रशासकीय अधिकृत