खण्ड ५ : आर्थिक क्षेत्र तथा रोजगार स्थिति



५.१ गाउँपालिका अर्थतन्त्रको संरचनात्मक स्वरुप


गाउँपालिकाको अर्थतन्त्र मुख्यतयाः कृषि, उद्योग, पानी, निर्माण, थोक, खुद्रा बजार, होटल, रेस्टुरेन्ट, पर्यटन तथा सेवा जस्ता क्षेत्रमा निर्भर भएको देखिन्छ । उपयुक्त हावापानी, माटोको बनोट तथा पहाडी भूभाग भएको यस गाउँपालिका कृषिको लागि उपयुक्त उर्वर माटो भएको पहाडी क्षेत्र भएको हुँदा गाउँपालिकामा अधिकांश घरपरिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि व्यवसायमा संलग्न रहेका छन् । कृषि बजारीकरण फस्टाउँदै जाँदा आर्थिक विकासको सम्भावना बढेर गएको छ । त्यसैगरी गाउँपालिकामा ठूलो क्षेत्रफलमा फैलिएको वनजंगल तथा जैविक विविधताले गाउँपालिकाको विकासमा थप सम्भावना बोकेका छन् । यस गाउँपालिकाका मानिसहरू उल्लेखनीय रुपमा औद्योगिक विकास तर्फ लागिरहेका देखिन्छ । यस गाउँपालिकाको अर्को मुख्य आर्थिक आधार वैदेशिक रोजगार पनि रहेको देखिन्छ । यद्यपि यो त्यति सकारात्मक भने होइन ।

प्राकृतिक सौन्दर्यको धनी, जैविक विविधता एवं साँस्कृतिक विविधताले भरिपूर्ण रहेका कारण नेपालको आकर्षक गन्तव्यहरू मध्ये सोलुखुम्बु जिल्ला र विशेषतः नेचासल्यान गाउँपालिका महत्वपूर्ण स्थान रहेको छ । विभिन्न किसिमका जातजातिको विभिन्न किसिमका संस्कृति रहनसहन तथा चाडपर्व, विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिरहरू, गुफाका साथसाथै प्रकृतिको सुन्दरता झल्काउने सुन्दर हिमाल, डांडा, झरना,नदी, पहराहरुको मनमोहक दृश्य आदि गाउँपालिकाका प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेका छन् । यी क्षेत्रहरूमा केही पूर्वाधार निर्माण कार्यहरू भएको खण्डमा र तिनीहरूको प्रचार प्रसार गर्न सके पर्यटन व्यवसायबाट राम्रो आम्दानी तथा रोजगारीका अवसरहरू प्राप्त गर्न सकिने थियो ।

५.२ आर्थिकरूपले सक्रिय जनसंख्याको अवस्था


तालिका नं. ५.१ : आर्थिकरूपले सक्रिय जनसंख्याको अवस्था


नेचासल्यान गाउँपालिकामा आर्थिकरुपले सक्रिय जनसंख्या भनेर १५-५९ बर्षसम्मको मानिसहरुको संख्यालाई लिइएको छ जसमध्ये आर्थिकरुपले सक्रिय जनसंख्या ११,९६३ रहेको छ जुन कुल जनसंख्याको ७७.०५ प्रतिशत हुन जान्छ । यस मध्ये पुरुषको संख्या ६,०१० (५०.२४ %) र आर्थिकरुपले सक्रिय महिलाको संख्या ५,९५३ (४९.७६ %) देखिन्छ । माथिको तालिकाको विवरणलाई तलको स्तम्भचित्रमा पनि देखाइएको छ ।



५.३ आश्रित जनसंख्याको विवरण


तालिका नं. ५.२ : आश्रित जनसंख्याको विवरण


नेचासल्यान गाउँपालिकामा आश्रित जनसंख्या भनेर ०-११ बर्षका बालबालिका र ६० बर्ष वा सो भन्दा माथिका आश्रित वृद्धवृद्धाहरुको संख्यालाई लिइएको छ । जसमध्य आश्रित बालबालिकाको संख्या १,७९० र आश्रित वृद्धवृद्धाहरुको संख्या १,७७३ देखिन्छ । माथिको तालिकाको विवरणलाई तलको स्तम्भचित्रमा पनि देखाइएको छ ।



५.४ सिंचाइ


यस नेचासल्यान गाउँपालिका क्षेत्रमा रहेका खोलाको पानीलाई काठ, स्याउला र ढुङ्गाले कुलोमा पानी फर्काई आफ्नो परम्परागत श्रोत साधनको परिचालन गरी संचालित कुलोहरू सिंचाइका आधारशिला हुन् । सिंचाइका प्रमुख श्रोतहरू स्थानीय साना खोलाहरू मात्रै हुन् । यी श्रोतहरू बाहेक गाउँपालिकामा खेतीयोग्य जमिनमा सिंचाई गर्न पानीको श्रोत छैन । कृषिको लागि उर्वर माटो भएको र गाउँपालिकामा ठूलो संख्यामा जनता कृषिमा नै निर्भर रहेको हुँदा प्राकृतिक स्रोतको उपयोग गरी सबै खेतीयोग्य जमिनमा सिचाई सुविधा पु¥याउन सके कृषि उत्पादनमा प्रशस्त वृद्धि हुने देखिन्छ ।



५.५ कृषि तथा पशुपालन


५.५.१ कृषि


नेपालमा कृषि क्षेत्र देशको प्रमुख रोजगार प्रदायक तथा कूल गार्हस्थ उत्पादनमा प्रमुख हिस्सेदार भै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ । देशमा भौगोलिक विविधताले उपलब्ध गराएको अवसर, कृषकहरुको धेरै लामो समयदेखिको विशिष्ट अनुभव र आधुनिक कृषि प्रविधिको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सूरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तथापि कृषि उर्वर भूमिको अवैज्ञानिक प्रयोग प्राकृतिक प्रकोपहरुको भूमिमा पर्ने असरहरु कृषि श्रम र सिप हुनेहरुमा कृषि योग्य भूमिको पहुँच नहुनु र पहुँच हुनेहरुले भूमिको प्रयोग गर्न नसक्नु कृषि क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था हुन नसक्नु नेपालमा कृषि क्षेत्रको मुख्य समस्या र चुनौती रहेको राष्ट्रिय कृषि नीति २०६१ को पृष्ठभूमि मै स्पष्ट उल्लेख गरिएको छ । यो समग्र राष्ट्रको कृषि क्षेत्रको आम समस्या भएकोले यस नेचासल्यान गाउँपालिकाको हकमा समेत लागु हुन्छ । ग्रामीण जनताहरूको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्ने कृषि क्षेत्रको आधारभूत कृषि तथ्याङ्कलाई ग्रामीण विकासको सूचकको रुपमा पनि लिन सकिन्छ ।

तुलनात्मक रुपमा हेर्दा पुरुषहरू यस पेशाबाट विमुख हुँदै अन्य पेशातर्फ आकर्षित भएको देखिन्छ । यसो हुनुमा अन्य पेशाबाट आम्दानीमा वृद्धि हुनु र खेती योग्य जमिनको अभाव विस्तारै सिर्जना हुनु पनि हो । कृषि क्षेत्रमा आधुनिकीकरण नहुनु, बजार व्यवस्थाको अभाव, सिंचाईको व्यवस्था नहुनु तथा जीवनशैली जटिल बन्दै जानुले यस क्षेत्रबाट विमुख हुनुको केही प्रमुख कारण मान्न सकिन्छ ।

गाउँपालिकाको ठूलो क्षेत्रफल पहाडी भूभागले भरिएको हुँदा कृषिका लागि सिमित मात्रामा उपयोगी क्षेत्र रहेको छ । सामान्यतः कृषि प्रणालीमा मुख्य अन्न बालीहरू धान, मकै, गहुँ आदि हुन् । यस्तै दलहन बालीमा मास, केराउ, चना, आदि उत्पादन हुने गर्दछ । तेलहन बालीमा तोरी र तिल उत्पादन गरिन्छ भने तरकारी खेती आलु, प्याज, काउली, अदुवा, लसुन लगायत प्रमुख खाद्य तथा नगदे बाली हुन् र यीनको उत्पादकत्व पनि बढी छ । गाउँपालिकामा सबैभन्दा धेरै क्षेत्रमा खाद्यान्न, दलहन र तरकारी बाली लगाइने गरेको छ भने तुलनात्मक रुपले न्यून क्षेत्रमा फलफुल र मसला बाली लगाइने गरेको छ ।

साथसाथै, व्यवसायिक रुपमा कृषि क्षेत्र विस्तार गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्तर्गत गाउँपालिकाको सबै वडाहरुलाई अदुवा र बेसार जोन घोषणा गरी व्यवसायिक रुपमा २ रोपनी भन्दा बढी जमिनमा अदुवा र बेसार खेती गर्न कृषक, समूह र सूचीकृत फर्महरुलाई अनुदान पनि प्रदान गरिएको छ । गाउँपालिकाले कृषिको कार्ययोजना बनाएर रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै “Organic गाउँपालिका” को परिकल्पना पनि अघि सारेको छ । गाउँपालिकाको कृषि शाखाले तरकारीको नि:शुल्क बिउ र सुख्खा ग्रस्त क्षेत्रमा फलफूल र तरकारी लगाउने कृषकलाई प्लास्टिक पोखरी र scissor वितरण गरिरहेको छ र अनुदानमा Tunnel पनि वितरण गरिरहेको छ । यसको लागी आर्थिक वर्ष २०७४/७५ मा रु.४०,००,०००/- निसर्त र रु.१६,९७,०००/- ससर्त बजेट विनियोजन समेत गरिएको छ । यस बाहेक पनि गाउँपालिकाले कृषिलाई उत्पादन मुलक बनाउन थुप्रै कार्यक्रम( तालिम, अनुदान, गोष्ठी) र योजनाहरु ल्याउन कसरत गरिरहेको देखिन्छ । यस गाउँपालिकामा कृषि क्षेत्रमा कार्यरत ११४ वटा कृषक समुह पनि रहेका छन् ।


क) हिउँदे बाली

गाउँपालिकामा उत्पादन गरिने प्रमुख हिउँदे बालीहरूमा कोदो, फापर, जौ, चना, मास, राजमा, भटमास, मुङ, तोरी, तिल, केरा, सुन्तला जात, अम्बा, लिचि, आरु, मेवा, नास्पति, हिउँदे तरकारी, बसन्ते तरकारी, वर्षे तरकारी, आलु, मसला बाली रहेका छन् ।

ख) वर्षे बाली

गाउँपालिकाका प्रमुख वर्षे बालीहरूमा धान, मकै, कोदो, फापर, दलहन, भटमास, मास, अन्य तरकारी, वर्षे तरकारी, आलु, फलफूल, सुन्तला, कागती, निबुवा, केरा, मसला बाली, अदुवा छन् ।


नेचासल्यान गाउँपालिकामा उत्पादन हुने मुख्य अन्नबालीहरुको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ५.३ : मुख्य बालिको विवरण



५.५.२ कृषि बालीमा लाग्ने रोग


गाउँपालिकाको कृषि उत्पादनमा धान, गहुँ, मकै, दलहन, तरकारी, फलफूल आदि नै मुख्य रुपमा रहेको छ । सामान्यतया धानमा डढुवा, खैरो थोप्ले, सिथ ब्लाइट रोगहरु देखा परेको छ भने गहुँमा कालो पोके र सिन्दुरे जस्ता रोगहरु देखिन्छन । यसैगरी डांठ वा धोगा कुहिने र तरकारी आलु सागपात आदिमा लेटव्लाइट, मोजाइक, ओइलाउने, खोस्टे, अल्टरनेरिया कवरट, ड्याम्पिङ्ग अफ, जरा कुहिने जस्ता रोगहरु मुख्य रुपमा देखा पर्दछन । फलफूलमा विशेषगरी कोत्रे, सेतो धुले रोग, भोजक पात, गुजुमुज्ज हुने, जरा कुहिने, ओइलाउने आदी रोगहरुको प्रकोपबाट कृषकहरु समस्यामा परेका छन् ।


५.५.३ कृषि बजारीकरण


परम्परागत कृषि बजारीकरणमा उत्पादकहरूले असंगठित रुपमा आफ्नो उपजको आफैं बजारीकरण गर्ने चलन थियो तर पछिल्ला दिनमा विविध खाले बजार श्रृंखला पार गर्दै उपजहरूको बजारीकरण प्रचलन विकास हुन थालेको छ । नेचासल्यान गाउँपालिका निर्माण हुनुभन्दा पहिलेदेखि यहाँका कृषिजन्य वस्तु बजारीकरणका ढाँचाहरू विभिन्नखालका अभ्यासमा आएका छन् । यद्यपि आजसम्म पनि व्यवस्थित कृषि बजार निर्माण भईसकेको छैन । गाउँपालिकामा विभिन्न ढाँचामा कृषि बजारीकरणका मोडलहरू विकास र अभ्यास भएको देखिन्छ । जस्तै, १. डुलुवा कृषि बजारीकरण २. हाटबजार कृषि बजारीकरण ३. स्थायी खुद्रा कृषि उपज बिक्री स्थल ४. स्थायी थोक कृषि उपज बजार ५. हाटबजार जिउँदो पशु, पंक्षी बिक्री स्थल ६. स्थायी जिउँदो पशु, पंक्षी बिक्री स्थल ७. पशुपंक्षीजन्य उत्पादनको बजारीकरण (दुध, मासु, अण्डा) ८. बजारस्थलमा कृषि वस्तु बजारीकरण उल्लेखित कृषि उपज बजारीकरणका प्रवृत्तिहरूमा विशिष्ट चरित्रहरू देखिन्छ ।

प्रारम्भका दिनमा उत्पादकले आफ्ना कृषि उपजहरू डोको, थुन्से, डालोमा बोकेर बजारका सम्भावित ग्राहक उपभोक्ता खोज्दै डुलेर वस्तुको बिक्री गर्नु पर्ने अवस्था थियो । अझ पनि कतिपय पर्व र मौसमहरूमा उत्पादकत्व घरेलु खर्चको जोहो गर्न यस्तै डुलुवा कृषि बजारीकरणलाई निरन्तरता दिएको पाइन्छ । यस्तो अभ्यासमा उत्पादक आफै आउने क्रमको साटो विचौलिया कारोवारीहरूले पनि यहि प्रक्रिया अपनाएर कृषि उपज बजारीकरण गर्दै आएका पाइन्छन् । यो प्रक्रियाले रोजगारको सृजना र गाउँसम्म बजारको विस्तारमा टेवा पु¥याएको देखिन्छ । यस्ता विचौलीया कृषिउपज विक्रेताहरूले ठेलागाडामा बजारीकरण गर्ने तथा सडकको फुटपाथ तथा कालोपत्रे समेत अतिक्रमण गरेर कारोबार गर्ने प्रचलन नै बस्यो । नेचाबिहिबारे बजार, सल्यान दोदी बजार, गैरी बजार यस गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्र हुन्।


५.५.४ जग्गाको उर्वराशक्ति


जिल्लाको ठूलो क्षेत्रफल हिमाल, पहाड तथा भिरपाखाले ओगटेकोले कृषि उत्पादनको लागि उर्वर भूमि सिमित रहेको छ । समशीतोष्ण एवं शितोष्ण हावापानी रहेको यस गाउँपालिकाको भूमि कृषिका लागि अति उपयुक्त रहेको छ ।

समथल भूभागमा खाद्यन्न बालीको लागि उर्वरभूमि पाइन्छ भने भिराला पाखाहरूमा फलफूल, खरघाँसको लागि उर्वरता रहेको पाइन्छ । अधिकांश कृषकहरूको कृषि पेशा परम्परागत रुपमा नै रहेकोले कृषि पेशामा युवा पुस्ताहरूको आकर्षण कम रहनाले गाउँपालिकामा रहेका सम्भाव्य क्षेत्रहरूमा समेत उर्वर भूमि वृद्धि गर्ने दिर्घकालिन सोचले सार्थकता पाउन सकेको देखिँदैन ।

गाउँपालिकाको तल्लो भू-भागमा मरिच, सुपारी र भुइँ/रुख कटहर खेतीको लागी निकै उर्वर भूमि रहेको पाइन्छ ।


५.५.५ पशुपालन


विशेषगरी गाई, भैसी, बाख्रा, सुँगुर र कुखुरा नै यहाँका मुख्य घरपालुवा जनावर हुन । यहाँ डेरी उद्योग, व्यापारिक फार्म, गाई, भैसी, भेडा फर्महरू रहेका छन । त्यस्तै गरी भेटेनरी सेवा पनि नेचासल्यान गाउँपालिकामा उपलब्ध रहेको छ । गाउँपालिकामा पशुपालनलाई अझ व्यवस्थित बनाउन सके अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।

गाउँपालिकामा पशुसेवा शाखाले व्यवसायिक पशुपालनको लागी उन्नत जातका बोका र पाठा साथै सुँगुर र कुखुराहरु नि:शुल्क वितरण गर्दै आएको छ । पशुसेवा शाखाले यी पशुहरुको लागी विभिन्न पोषण तत्वका घाँसहरुको बिउ पनि वितरण गर्दै आएको छ । साथै, पशुसेवा शाखाले व्यवसायिक बाख्रापालन, कुखुरापालन र बंगुरपालनको लागी कृषकहरुलाई तालिम दिने योजना पनि अघि सरेको छ । पशुमा लाग्ने रोगको पहिचान गरी आवस्यक परे फिल्डमै पुगेर नि:शुल्क उपचार गरिरहेको पशुसेवा शाखाले पशुहरुमा कृत्रिम गर्भधारण समेत गर्ने गरेको छ ।

पशुमा लाग्ने मुख्य रोगहरु:

• पाजिवी
• थुनेलो
• साल अड्कने
• बच्चा अड्कने
• विफर ( कुखुरामा )

हालसालै सम्पन्न घरधुरी सर्वेक्षण अनुसार नेचासल्यान गाउँपालिकामा भएका घरपालुवा जनावरहरुको विवरण हेर्दा कृषकहरु कुखुरा तथा हाँस पालनमा सबैभन्दा बढी आकर्षित देखिन्छन् । तुलनात्मक रुपमा कुखुरा पालन भन्दा कम देखिए पनि कृषकहरुको गाई/गोरु, भैंसी तथा रांगा, खसी/बाख्रा पालनको पनि राम्रो संख्या देखिन्छ । पशुपालनको विवरण तलको स्तम्भचित्रमा प्रस्तुत गरिएको छ ।

तालिका नं. ५.४ : पशुपालनको वडागत संख्यात्मक विवरण



५.५.६ विकासमान बजार क्षेत्रहरूको स्थिति


नेचासल्यान गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्रहरू मध्ये नेचाबिहिबारे, सल्यान दोदी, बतासे, गैरी, आदि प्रमुख हुन् । नेचाबिहिबारे बजार नेचासल्यान गाउँपालिकाको वडा नं ३ रहेको छ भने सल्यान बजार वडा नं २ मा रहेको छ । त्यस्ता बजार केन्द्रहरूबाट गाउँपालिकामा उपलब्ध हुने सामान र सेवालाई ग्रामीण क्षेत्रमा समेत अधिकतम रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । केही प्रमुख ग्रामीण बजारकेन्द्रहरूको नाम, बजार रहेको क्षेत्र र प्रकृतिको विवरण निम्न तालिकामा दिइएको छ ।

घरधुरी सर्वेक्षण अनुसार नेचासल्यान गाउँपालिकामा अधिकांश परिवारहरुलाई उत्पादित अन्नले वर्षै भरि खान नपुग्ने स्थिति देखिएको हुनाले पनि यहाँको बजार अझ व्यवस्थित गरी बढी मात्रामा खाद्यान्न उपलब्ध गराउनु पर्ने देखिन्छ ।

तालिका नं. ५.५ : उत्पादित अन्नले खान पुग्ने समयको विवरण


तालिका नं ५.६ : प्रमुख ग्रामीण बजारकेन्द्रहरूको नाम, बजार रहेको क्षेत्र र प्रकृतिको विवरण




५.६ उद्योग तथा व्यापार क्षेत्र


नेचासल्यान गाउँपालिकाको औद्योगिक स्थितिलाई हेर्दा स्थानीय कच्चा पदार्थमा आधारित कृषिजन्य, वनजन्य उद्योगहरू मात्र स्थापना भएको पाइन्छन् भने तत्पश्चात औद्योगिक दृष्टिकोणले विविधीकरण भएको पाइन्छ । कृषिमा आधारित उद्योग अन्तर्गत खाद्य मिल, फलफुल तथा तरकारीका नर्सरीहरू, कुखुरापालन, माछापालन, डेरी जस्ता क्षेत्रहरूमा कुटिर तथा घरेलु उद्योगहरू सञ्चालन भएका छन् । वन पैदावरमा आधारित उद्योग अन्तगर्त सःमिल, फर्निचर, जडिबुटी उद्योगहरू रहेको छन् । अन्य उत्पादनमुलक उद्योग अन्तर्गत ग्रील, फर्निचर जस्ता उद्योगहरू रहेका छन् । सबैभन्दा बढी उद्योगको रुपमा व्यवसायमुलक सेवा उद्योगहरू छन् । यसमा कार्यशाला, शिक्षक तथा प्रशिक्षक सेवा, कोल्ड स्टोर, सिलाई, होटेल रेस्टुरेन्ट, केबुल, फोटो स्टुडियो, पुल हाउस, आदि छन् ।


५.६.१ थोक तथा खुद्रा व्यापार


थोक व्यापार अन्तर्गत पिठो, तेल, तरकारी, फलफुल, माछा, गेडागुडी तथा मसला पूर्वी भागका अन्य जिल्ला लगायत देशका विभिन्न स्थानहरूसँग हुने गरेको छ भने अन्य थोक व्यापारमा विस्कुट, साबुन, चाउचाउ, चिया, चिनी आदिको हुने गरेको छ । यसका अतिरिक्त तेस्रो मुलुकमा निर्मित इलेक्ट्रीक र इलेक्ट्रोनिक्स सामानहरूका साथै फरेन गुड्सको नाममा विभिन्न तेस्रो मुलुकहरूबाट उत्पादन भई पैठारी गरिएका घरेलु उपयोगका सामानहरूको समेत उल्लेख्य मात्रामा थोक र खुद्राबिक्री नेचाबिहीबारे बजारबाट हुने गरेको पाइन्छ ।

५.६.२ ढुवानी तथा भण्डार व्यवस्था


गाउँपालिकाभित्र उत्पादित मालसामानहरू गाउँपालिकाको एक ठाँउबाट अर्को ठाउँमा पु¥याउन ढुवानी साधानको रुपमा ट्रक, ट्याक्टर आदि रहेको छन् । गाउँपालिकामा पक्की सडक नभएका क्षेत्रहरूमा ढुवानी गर्न समस्या भएको पाइन्छ । कतिपय ठाउँहरूमा खोलामा पुल नभएका कारण आवागमनमा समेत समस्या रहेको सन्दर्भमा मालसामान ढुवानी गर्ने समस्या झन टड्कारो रुपमा रहेको देखिन्छ । गाउँपालिकाको आन्तिरिक ढुवानी प्रणालीलाई सुदृढ गर्न खहरे खोला र ठाडो खोलामा पुल निर्माण भइरहेको देखिन्छ ।

ठाडो खोलामा निर्माणाधीन पुलको तस्विर


नेचासल्यान गाउँपालिकामा उत्पादन हुने खाद्यान्नहरूको भण्डारको व्यवस्था सरकारी स्तरमा पनि भएको पाइएको छैन । गाउँपालिकामा कृषकहरूले खाद्यान्नको उचित दरभाउ पाएमा व्यापारीहरूलाई बिक्री गर्ने र व्यापारीहरूले त्यसरी खरिद गरेको खाद्यन्न आफ्नै गोदाममा राख्ने गर्दछन ।


५.६.३ स्थानीय उत्पादनहरूले बाह्य उत्पादनसँग गर्नु परिरहेको प्रतिस्पर्धा


स्थानीय उद्योगहरू उत्पादित वस्तुहरू चामल, तोरी, पिठो, पोल्ट्री प्रोडक्ट, फलफुल तथा तरकारीसम्बन्धी उद्योगहरूको अन्य जिल्ला तथा भारतीय बजारको प्रतिस्पर्धा गर्नु परिरहेको छ । उद्यमशीलता, सिप विकास, बजारीकरण, सेवा कर्जा बजारको सुचनामा उद्यमीहरूको पहुँचको स्थिति, सिप विकास तालिम, उद्यमशिलता विकास तालिमका माध्यमबाट गाउँपालिकामा रोजगारी बढाउने, उद्योग व्यवसायमा वृद्धि गर्ने उद्देश्य पूर्ति गर्न नेचासल्यान गाउँपालिका लागि परेको छ । गाउँपालिकामा उद्योग व्यवसाय गर्ने एवं सिपमुलक तालिम गरी स–साना व्यवसाय गर्ने व्यक्तिहरूलाई कर्जा बजारको सुचना भएको र गाउँपालिकामा स्थापित वित्तीय संस्थाहरूबाट कर्जा लिनेहरूको संख्या पनि पर्याप्त रहेको देखिन्छ ।

५.६.४ स्थानीय कच्चा पदार्थको उपलब्धता र उपयोगको स्थिति


नेचासल्यान गाउँपालिकामा कृषि जन्य कच्चा पदार्थहरूमा धान, मकै, कोदो, फापर, जौँ, गहुँ, फलफुल, तरकारी, अदुवा, बेसार, किवी आदि प्रमुख छन् । यी कच्चा पदार्थहरूमा आधारित खाद्य मिल उद्योगहरू स्थापना भई कच्चा पदार्थको उपयोग भएको पाइएको छैन । गाउँपालिकाले यी कच्चा पदार्थहरू प्रशोधन गर्न केहि कदम तत्काल चाल्नु पर्ने देखिन्छ । गाउँपालिकामा व्यापारको प्रकृति अनुसार खाद्यान्न धान, गहुँ, तोरी व्यापारीहरूले अन्य जिल्लाबाट आयात तथा निर्यात गर्ने गरेको पाइन्छ ।



५.७ अन्य आर्थिक विकासका सम्भावनाहरू


गाउँपालिकामा आर्थिक विकास अन्तर्गत पर्यटन, यातायात सेवा, पदयात्रा मार्गहरू, सूचना प्रविधि, शैक्षिक प्रशिक्षण केन्द्र, वित्तीय सेवा, वैदेशिक रोजगार, फर्निचर, क्रसर र पोखरीहरु निर्माण गरी माछापालन व्यवसाय जस्ता थप आर्थिक विकासका सम्भाव्यताका क्षेत्रहरू रहेका छन् ।

समग्रमा यस गाउँपालिकाका ग्रामीण क्षेत्रमा हेर्दा कृषि पेशा अंगाल्ने घर परिवारको संख्या उच्च रहेको छ । गाउँपालिकामा रहेको खेती योग्य जमिनमा खाद्यान्नको साथै अन्य नगदे तरकारी बाली, फलफूल, तोरी, तरकारी मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको छ । आधुनिक कृषि प्रविधि, मल तथा औजारको अभाव हुनाको साथै सो को अधिकतम लागत मूल्यले गर्दा सो को प्रयोगमा कमी हुन गई कृषि उत्पादनमा आवश्यकता अनुसार वृद्धि हुन सकेको छैन । जनचेतना, सीप तथा व्यावसायीकरणको अभिवृद्धि, प्रविधि हस्तान्तरणको साथै आवश्यक प्रविधि, मल, कर्जा बीउ बिजनको उपलब्धतामा सरलीकरण गरेर कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि ल्याई आर्थिक स्थितिमा सुधार ल्याउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ ।

गाउँपालिकामा रहेको अत्यन्त उर्वर भूमिमा वस्ती विकास तथा अन्य निर्माणले गर्दा खेतीयोग्य भूमिको उपलब्धतामा दिन प्रतिदिन कमी हुँदै गएको छ भने अर्को तर्फ माटोको उर्वराशक्ति क्रमशः क्षीण हुँदै उत्पादन र उत्पादकत्वमा ह्रास आएको देखिन्छ । जथाभावी हुने गरेको वस्ती विकासलाई व्यवस्थित गर्नाको साथै पुराना परम्परागत कूलोको मर्मत सुधार गरी माटोको उर्वराशक्ति बढाउन सकेमा भावी पुस्ताको लागि एउटा बस्न लायक जीवन्त स्थानको जोहो गर्न सकिनेछ ।

गाउँपालिकाको प्राय सबै क्षेत्रमा दुग्ध उत्पादन तथा पशुपञ्छी उत्पादनको प्रशस्त सम्भावना रहेको हुँदा यो व्यवसायलाई व्यापक रुपमा विस्तार गर्नाको साथै यातायात सेवालाई सर्वसुलभ तरिकाले उनीहरूको पहुँचसम्म विस्तार गर्न सकेको खण्डमा धेरै स्थानहरूमा दुध चिस्यान केन्द्र, मासुजन्य उद्योग, आदि विकास गर्न सकिनेछ जसबाट रोजगार श्रृजना गरी समग्र गाउँपालिकाको आयमा वृद्धि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।

गाउँपालिकाका धेरै ठाउँहरूमा रहेका प्राकृतिक पोखरीहरूमा पानी जम्मा गर्ने र थप केही अन्य ठाउँहरूमा पोखरी निर्माण गरी माछापालन व्यवसाय गरेमा सजिलैसँग रोजगारीका अवसरहरू बढ्ने सम्भावना रहेको छ ।

पशुपालनलाई अझ व्यवस्थित बनाएर व्यवसायिक रुपमा बाख्रा, बुंगुर र कुखुरापालन गर्न सके गाउँपालिकाको आर्थिक विकासमा यसले एकदमै महत्वपूर्ण भूमिका खल्ने देखिन्छ ।

गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहहरूलाई संगठित र संस्थागत गरी वन क्षेत्रमा गैर काष्ठजन्य उत्पादनहरू जडिबुटीको खेतीको अलावा मह उत्पादनलाई पनि प्रवर्द्धन गरी बजारमुखी गर्न सकेमा सो क्षेत्रको आर्थिक उन्नती गर्न थप टेवा पुग्ने देखिन्छ ।

गाउँपालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रहरू तथा धार्मिक, साँस्कृतिक महत्वका स्थलहरूको संरक्षण र सूचना संकलन गरी पर्यटकहरूलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको छ र थप आर्थिक अवसरहरू श्रृजना गर्न सकिने देखिन्छ ।

गाउँपालिकामा बेरोजगारी बढ्दै गइरहेको र सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको प्रशस्त अवसरहरू नभएकोले वैदेशिक रोजगारीमा आकर्षण बढेको देखिन्छ । यस गाउँपालिकाका युवाहरूलाई सिपमुलक तालिम प्रदान गरी एकिकृतरुपले वैदेशिक रोजगारमा पठाउने व्यवस्था भएमा गाउँपालिकाको आर्थिक विकासमा यस क्षेत्रले ठुलो योगदान पुर्याउने प्रशस्त सम्भावना देखिन्छ ।

यस गाउँपालिकामा भएका प्राकृतिक श्रोत र साधनलाई व्यवस्थित तथा वातावरणीय मित्रवत प्रविधि अपनाएर उचित प्रयोग गर्न सकेमा सो क्षेत्रले कतिपय ग्रामीण इलाकाहरूमा स्थानीय स्तरमा आवश्यक रोजगारीको स्थिति श्रृजना गर्नाको साथै स्थानीय श्रोत परिचालनमा समेत दिगोपना ल्याउन सकिने देखिन्छ ।