खण्ड ८ : वन तथा वातावरण



८.१ प्राकृतिक वन तथा वनस्पति


नक्सा नं. ८.१ : नेचासल्यान गाउँपालिकामा वनले ढाकिएको क्षेत्रफलको नक्सा


नेचासल्यान गाउँपालिका वन वातावरण र जैविक विविधताको दृष्टिकोणले अद्यपि सम्पन्न गाउँको श्रेणीमा पर्दछ । गाउँको कुल क्षेत्रफल ६७.५४ वर्ग कि.मि. मध्ये २४.६४ वर्ग कि.मि. (३६.४८ प्रतिशत) भू-भाग वन क्षेत्रले ढाकेको छ । जसमध्ये सामुदायिक वन, धार्मिक वन र अन्य राष्ट्रिय वन रहेका छन् । जिल्ला वन कार्यालयको कार्यक्षेत्र भित्र पर्ने गरि नेचासल्यान गाउँपालिकाको वन क्षेत्रलाई व्यवस्थापन गरिएको छ । यस गाउँमा पाइने प्रमुख बनस्पतीका प्रजातिहरूमा खोटे सल्ला, साल, साज, बाँझ, कटुस, लालीगुराँस, काफल, उतिस, चिउरी, पैयु, कोइरालो, वोटधाइरो, जामुन, सिसौ, टुनी, सान्दन, तिजु, टुनी आदि रहेका छन् र लघु वन पैदावारहरूमा खोटो, टिमुर, तेजपात, दारुहल्दी, काउलो, गोकुलधुप, अमला, रिठा, पाखनवेद, बोझो काफलको बोक्रा, आदी हुन् । त्यसैगरी बन्यजन्तुहरूमा १) स्तनधारीः कस्तुरी मृग, घोरल, झारल, थार, बाघ, फ्याउरो, चितुवा, बाँदर, भालु, स्याल, रतुवा, दुम्सी, पाखे वेत, खरायो, बँदेल, मलसाप्रो, ब्वाँसो, आदि रहेका छन् । त्यस्तैगरी, २) पंक्षीः डाँफे, मुनाल, कालिज, तित्रा, कोईली, ढुकुर, बकुल्ला, पानी हाँस, गिद्ध, चिल, काग, गौथली, भंगेरा, लुँईते, लामपुच्छ्रे, च्याखुरा, मलेवा, लुइचे, जुरली, धनेस, हुचिल आदि, विभिन्न प्रजातिका चराहरू रहेका अनुमान छ । ३) सरीसृपः छेपारो, अजिंगर, सर्प, सालक आदि । ४) उभयचरः भ्यागुता र पाहाँ, आदि ५) किरा पुतलीः खजुरो, कन्सुत्लो, पुतली, फट्याङ्ग्रा, आदि ।



८.२ जैविक विविधता सम्बन्धी विवरण


नेपालको वन क्षेत्र वि.सं. २०१३ सालभन्दा अगाडि मुखिया, तालुकदार तथा गाउँलेहरूबाट रेखदेख हुँदै आएकोमा २०१३ सालमा निजी वनजंगल राष्ट्रियकरण ऐन लागु भएपछि निजी वन बाहेकका सबै वन सरकारको अधिनमा गयो । नेचासल्यान गाउँपालिकाको पर्यावरणीय सन्तुलनका लागि पारिस्थितिक जैविक प्रणालीलाई सन्तुलित रुपबाट कायम राख्न वन, वनस्पती तथा प्राणीहरू बिचको स्थापित सम्बन्धलाई दिगोरुपमा कायम राख्न सजगता अपनाउनुपर्ने देखिन्छ । दिगो विकासका निम्ती पूर्वाधार विकासको क्रममा हुने विनासलाई न्युनीकरण गर्न नितान्त आवश्यक छ । वातावरणीय सन्तुलनले वनस्पती वा प्राणीहरूको क्रमिक ह्रास र विनास हुँदै अन्ततः लोप हुने अवस्था हुन सक्छ । विषम हावापानीमा विभिन्न जात जातिका प्राणी र वनस्पती रहेको नेचासल्यान गाउँपालिका जस्ता गाउँमा वन संरक्षण र संवर्द्धनको कार्यमा स्थानीय बासिन्दाहरूको सहभागिता अपरिहार्य हुन पुगेको छ । यिनै कुराहरूलाई मध्य नजर गरी २०४९ सालमा स्थानीय बासिन्दाहरूलाई आफ्नो दैनिक उपभोग्य वन पैदावरको उपलब्धता गराउने उद्देश्य राखी सामुदायिक वन दर्ता गर्ने कार्यको थालनी भएको पाइन्छ ।

मानव जीवनको लागि जैविक विविधताको संरक्षण अपरिहार्य छ । दैनिक जीवनको लागि आवश्यक काठ, दाउरा, घाँसको लागि मात्र नभई जैविक प्रणालीको सन्तुलनको लागि समेत जैविक विविधताको महत्वलाई दृष्टिगत गरी हाल यस गाउँमा सामुदायिक वन, धार्मिक वन, निजी वन र राष्ट्रिय वन जस्ता अवधारणाहरूलाई व्यवहारमा लागु गरिएको छ । यसै सन्दर्भमा नेचासल्यान गाउँपालिकाका वन वरिपरी बढिरहेको जनसंख्या र आगामी दिनहरूमा उक्त वन क्षेत्रले मागको आधारमा आपुर्ति गर्न नसक्ने वन पैदावरको हैसियतलाई विचार गर्दा यस क्षेत्रको जैविक विविधता व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ । हाल आएर, यस गाउँपालिकामा १७ वटा सामुदायिक वन र केही धार्मिक एवं राष्ट्रिय वन संरक्षण, संवर्द्धन तथा सदुपयोगमा सहभागि भइरहेका छन् ।

नेचासल्यान गाउँपालिका समुन्द्री सतहबाट ५६० मि. भू-भाग देखि ३,१२० मि. सम्मको उर्चाइमा अवस्थित रहेको र यस गाउँमा उपोष्ण, समशीतोष्ण जलवायुयुक्त भएको कारण यस क्षेत्रमा चिलाउने कटुस, पैयू, उत्तिस, खोटे सल्ला, साल, लालिगुराँसका प्रजातीहरूका विरुवाहरू पाइन्छन । गैर काष्ठ पैदावरको रुपमा व्यापारिक र आयुर्वेदिक महत्वका दृष्टिकोणले उपयुक्त देखिएका बाँस, निगालो, लोक्ता आदि वनस्पति तथा पिपला, अमला, हर्रो, बर्रो, चाबो, चिराईतो, दालचिनी आदि जडीबुटीहरू यस गाउँका मुख्य लघुवन पैदावरहरू हुन् ।

मिश्रित जलवायुका कारण जिवजन्तुमा अनुकुल प्रभाव परेको छ र उनीहरूले यस किसिमको वातावरणमा सहजतापुर्वक आफुलाई खपाउन सकिरहेको पाइन्छ । गाउँको विभिन्न प्रकारको वन क्षेत्रले कस्तुरी मृग, घोरल, झारल, थार, बाघ, फ्याउरो, कालो चितुवा, बाँदर, भालु, चितुवा, स्याल, रतुवा, दुम्सी, पाखे वेत, डाँफे, मुनाल, कालिज, तित्रा, कोईली, ढुकुर, बकुल्ला, पानी हाँस, गिद्ध, चिल, काग, गौथली, भंगेरा, लामपुच्छ्रे, छेपारो, अजिंगर, सर्प, सालक, भ्यागुता, पाहाँ, खजुरो, कन्सुत्लो, पुतली, फट्याङ्ग्रा आदि वन्यजन्तुहरूलाई बासस्थान प्रदान गर्दै संरक्षित गरेको छ । वर्षेनी वन क्षेत्र फडानी भई निर्माण क्षेत्र तथा कृषियोग्य भुभागमा परिणत हुनु र वन्यजन्तुहरूको वासस्थान एवं वन्य प्रजातिमा ह्रास हुनु जैविक विविधता संरक्षणका निमित्त विकराल चुनौतीका रुपमा देखिएको छ ।

गाउँको विषम हावापानीले जीवजन्तु र वनस्पतीहरूलाई संरक्षित गर्न सकिने खालका वासस्थान उपलब्ध गराइको भएतापनि जनसंख्या र बसाईसराइको अत्याधिक चाप र भुमीको उर्वरापनका कारण करिब ४ दशक अघिदेखि नै यहाँको वनक्षेत्र अतिक्रमण र वन फडाँनीको चपेटामा पर्न गएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण ठानिएका मन्दिरहरू समेत संरक्षण गर्नुपर्ने देखिन्छ ।



८.३ गाउँपालिकामा पाइने मुख्य वनस्पतिहरू


विविध प्रकारको भूबनोट र प्राकृतिक वातावरणका कारण नेचासल्यान गाउँपालिकालाई जैविक विविधताको भण्डारको रुपमा लिन सकिन्छ । यो गाउँलाई विशेष गरी सिमसार क्षेत्रको रुपमा चिनिन्छ । यहाँ पाइने मुख्य वनस्पतिहरूमा चिलाउने कटुस, पैयू, उत्तिस, खोटे सल्ला, साल, लालिगुराँसका प्रजातीहरू पाइन्छन् । बाँस, निगालो, लोक्ता आदि वनस्पति तथा पिपला, अमला, हर्रो, बर्रो, चाबो, चिराईतो, दालचिनी, आदि जडीबुटीहरू यस गाउँका मुख्य लघुवन पैदावरहरू हुन् ।



८.४ लघु वन पैदावार


यस गाउँमा उपोष्णदेखि समशीतोष्ण ठण्डासम्मका विविध प्रजातीका वनजंगलहरू रहेकाले विविध महत्वका जडीबुटीहरू पाईन्छन् । तथापी प्राप्त हुनसक्ने जडिबुटीहरू र यसको संकलन बारे सूचनाको अभाव रहेको छ । विभिन्न प्रजातिका लघु वन पैदावरहरू नगरमा पाइन्छन् । नेचासल्यान गाउँको वन क्षेत्रमा विभिन्न प्रकारका जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारहरू पाइन्छन् । मुख्य रुपमा पाइने गैह्रकाष्ठ वन पैदावारहरूमा काउलो, पिपला, साल, साज, टुनी, बाँझ, चुत्रो, ऐँसेलु, च्याउ, अमला, कुरिलो, हर्रो, बर्रो, बाँस, निगालो, अम्रिसो, रुद्राक्ष, घिउकुमारी, टिमुर, तेजपात, दारुहल्दी, गोकुल धुप, खोटे सल्ला, दालचिनी, चिराईतो, बेल, असुरो, चिउरी, यार्सागुम्बा, काफल, रिट्ठा, राजवृक्ष, ओखर, भ्याकुर, दतिवन, छतिवन, श्रीखण्ड, कटुज, वन तरुल, लालिगुराँस, कागती घाँस, पाखनवेद, काफलको बोक्रा, कालो जिरा, वोटधाइरो, सान्दन, लोक्ता, कोइरालो, भोर्ला, कालो मुसली, निम, सिमल, सालको पात, खोटो, सर्पगन्धा, लप्सी आदि, मुख्य हुन् ।



८.५ गाउँपालिकामा पाईने वन्यजन्तु


क) वन्यजन्तु :

यस गाउँपालिकामा विभिन्न प्रजातीका स्तनधारी वन्यजन्तुहरू पाइन्छन् । तिनीहरूमा मुख्य गरी कस्तुरी मृग, घोरल, झारल, थार, बाघ, फ्याउरो, कालो चितुवा, बाँदर, भालु, चितुवा, स्याल, रतुवा, दुम्सी, पाखे वेत, आदि छन् ।

ख) चराचुरुंगी :

यस गाउँपालिकामा करिब विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तिनीहरूमा मुख्य गरी डाँफे, मुनाल, कालिज, तित्रा, कोईली, ढुकुर, बकुल्ला, पानी हाँस, गिद्ध, चिल, काग, च्याखुरा, मलेवा, लुइचे, जुरेली, गौथली, हुचिल, भंगेरा, लुँईते, लामपुच्छ्रे, आदि छन् । यसबाहेक यहाँ बसाई सर्ने आउने चराहरूको मात्रा पनि प्रचुर मात्रामा रहेको छ ।

ग) सरिसृप जिवजन्तुहरू :

यस गाउँमा घिस्रने जिवजन्तुहरूमा छेपारो, अजिंगर, सर्प, सालक आदि पाइन्छन् ।

घ) माछा वर्ग:

यहाँ पाइने विभिन्न प्रजातीका माछाहरूको लागि भने सोलु र दुधकोशी नदी उत्तम बासस्थान मानिन्छ ।

ङ) किरा पुतली:

यस गाउँमा खजुरो, कन्सुत्लो, पुतली, फट्याङ्ग्रा आदि प्रशस्त मात्रामा पाइन्छन् ।




८.६ सामुदायिक वन


तालिका नं. ८.१ : हस्तान्तरिक सामुदायिक वनहरुको विवरण


स्थानीय बासिन्दालाई वन संरक्षण र उपयोगमा सहभागि बनाउने नेपाल सरकारको नीति अनुसार यस गाउँमा जिल्ला वन कार्यलय मार्फत सामुदायिक वन उपभोक्ता समूह गठन गरी वन हस्तान्तरण गर्ने काम पनि भइरहेको छ । गाउँमा आ.व. २०४९/५० देखि सामुदायिक वनको शुरुवात भएको पाइन्छ । यस गाउँमा आ.व. २०७४/०७५ सम्ममा जम्मा १७ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई २४.६४ वर्ग कि.मी. वन क्षेत्र संरक्षण, व्यवस्थापन गर्न हस्तान्तरण भै सकेको छ । विगतको समयमा थोरै जनसंख्याको तुलनामा प्रशस्त वन क्षेत्र भएकोले पनि वन संरक्षण भन्दा उपयोगमा मात्र जोड दिएको पाइन्छ तर गएको केही वर्षदेखि वन क्षेत्र वरिपरिका जनतामा नयाँ जागरण देखिएको छ । बढ्दो अतिक्रमण, लुकिचोरी हुने कटानी, चरिचरन, आगलागी आदि कारण र भैरहेको वन विनासले गाउँको अवस्था संवेदनशील भएको छ ।

सामुदायिक वनहरूमा विद्यमान संरक्षण र आफ्नो सामुदायिक वन प्रतिको लगावको परिणाम स्वरुप उजाड र मरुभूमीकरणतर्फ उन्मुख हुँदै खोला र खहरेहरूले ग्रसित भएका वनक्षेत्रहरू आज प्राकृतिक रुपमा संरक्षित भएका छन् । सामुदायिक वनका उपभोक्ताहरूसँग प्राविधिक ज्ञान र वनको उत्पादकत्व बढाउन आवश्यक पर्ने प्रविधिको अभाव खड्किएको छ । तसर्थ वन व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सामुदायिक वनहरूलाई स्रोत, साधन र प्रविधियुक्त जनशक्तिको उपलब्ध हुनु जरुरी छ । उपभोक्ताहरूमा रहेका परम्परागत वन संरक्षण विधिहरूका अतिरिक्त नयाँ विधि र कार्यशैलीहरूको विकास गराउन जरुरी देखिन्छ । दक्षता अभिवृद्धिका निमित्त सामुदायिक वन उपभोक्ताहरूलाई तालिम, गोष्ठी, सेमिनार र अवलोकन भ्रमणका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ ।

बौद्धिक सम्पदा अधिकार ( Patent Right ) का विषयमा र GATT WTO सम्बन्धी अवधारणाहरूका विषयमा समुदायलाई आवश्यक जानकारी गराउनु अनुशिक्षण दिनुपर्ने देखिन्छ । गाउँपालिका र सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागितामा सामुदायिक वनभित्र गैरकाष्ठ वनपैदावरको उत्पादनलाई प्रोत्साहित गर्न र विभिन्न तालिम गोष्ठी अध्ययन भ्रमणहरू गरिदै आएका छन् । यसले स्थानीय स्तरबाटै वन व्यवस्थापनका सम्पूर्ण पक्षहरूलाई अघि बढाउन र वनक्षेत्रको उत्पादन बढाउन थप मद्दत मिल्ने देखिन्छ । सामुदायिक वनहरूको सुदृढीकरणका निमित्त जिल्ला वन कार्यालयको जनशक्ति मात्रले सम्भव नदेखिएकाले उक्त कार्यका निमित्त वनसँग आवद्ध विभिन्न गैससहरूलाई गाउँमा परिचालन गर्नुपर्ने देखिन्छ ।

सामुदायिक वनहरूको संरक्षणमा प्रभावकारी उपायहरूको अवलम्बनले प्राकृतिक पुनरुत्पादन क्रमशः बढ्दै जाने देखिन्छ । वनहरूबाट काठ र दाउराको परम्परागत उत्पादन लिने प्रवृत्तिमा परिवर्तन गर्दै जनतालाई गैरकाष्ठ पैदावारको उत्पादनतर्फ उन्मुख गराउनुपर्ने र वन्यजन्तुहरूको व्यवसायिक पालन लगायतका गतिविधिहरूबाट आय स्रोतहरूमा वृद्धि गर्न जनसहभागितामा विशेष जोड दिनुपर्ने देखिन्छ ।



८.७ धार्मिक वन


धार्मिक संघ/संस्थाको वरिपरि रहेको वन जंगल क्षेत्रहरू धार्मिक क्षेत्रको महत्व र सौन्दर्य बढाउने उद्देश्यले त्यस्ता धार्मिक वनको रुपमा हस्तान्तरण गरिन्छ । नेचासल्यान गाउँपालिकाको विभिन्न भागहरू धार्मिक स्थल धार्मिक वनको सम्भावना बोकेका क्षेत्रहरू रहेको पाइए पनि हाल यहाँ कुन्तादेवी धार्मिक वन मात्रै रहेको छ ।



८.८ जडिबुटी सम्बन्धी विवरण


यस गाउँको वन क्षेत्रमा पाइने जडिबुटीहरूमा तेजपात, अमला, कुरिलो, पिपला, बोझो, हर्रो, बर्रो, भ्याकुर, रिठ्ठा, मौवा, लेमनग्रास, बेत, राजबृक्ष, रोहिनि, सालधुप, बाँस, अम्रिसो, पाखनबेद, चिउरी, मौवा, घोडाटाप्रे, वनहल्दी, सालकोपात, चिराइतो, टिमुर, भकिम्लो, आदि जडिबुटीहरू संकलन तथा बिक्री हुने प्रसस्त सम्भावना रहेको देखिन्छ ।



८.९ वन संरक्षणका लागि चाल्नु पर्ने कदम


राष्ट्रिय सामुदायिक र संरक्षित वनहरूलाई सघनीकरण गर्दै तिनीहरू भित्र गैरकाष्ठ पैदावार र बहुमुल्य जडिबुटीहरूको उत्पादन गर्नु नितान्त आवश्यक छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको विश्लेषण गरी गैरकाष्ठ पैदावारमा आधारित जडिबुटी प्रशोधन उद्योगको स्थापना तथा सञ्चालनतर्फ सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको संलग्नता हुनु नितान्त आवश्यक देखिन्छ । गाउँमा जनसंख्याको चाप बढ्दै गएको र उन्नत जातका पशुहरूको तुलनामा स्थानीय अनुत्पादक पशुहरूको संख्या पनि उच्च रहेको देखिन्छ । यी अनुत्पादक पशुहरूको अनियन्त्रित चरिचरनको कारण राष्ट्रिय र संरक्षित वन क्षेत्रहरू अत्याधिक प्रभावित भएका छन् । प्राकृतिक रुपबाट पुनरुत्पादन हुने गरेको पोथ्रा पोथ्रीहरू अनियन्त्रित चरिचरनले विनाश भइरहेका छन् ।

प्राकृतिक स्रोत र साधनहरूको दिगो उपयोगबाट नै मानव समाजको समुन्नत भविष्यको परिकल्पना गर्न सकिने भएकोले गाउँमा पाइने विभिन्न प्रजाति संरक्षणका निम्ति छुट्टै कार्य सञ्चालन गर्नुपर्ने साथै वनस्पती उद्यान र जैविक उद्यानको निर्माणतर्फ उन्मुख हुनुपर्ने देखिन्छ । जनताको सहभागिता र संलग्नतामा वन संरक्षणलाई सामुदायिक वन कार्यक्रम र कृषि वन कार्यक्रम सञ्चालन गरी गरिब, असहाय, अपांग र महिला समुदायलाई हस्तान्तरण गर्नुपर्ने देखिन्छ । वनको हैसियतमा समेत सुधार ल्याउन सामुदायिक वन उपभोक्ता समूहहरूबाट हुन सक्ने सकारात्मक कार्यक्रमहरूलाई पहिचान गरी सहभागितात्मक सामुदायिक वन विकास कार्यक्रम अघि बढाउनु अत्यावश्यक देखिन्छ।

गाउँ क्षेत्रमा तालतलैया र सिमसार क्षेत्रहरू पुरातात्विक स्थलहरूको समुचित व्यवस्थापन र वातवारणीय संवर्द्धन गरी प्राकृतिक सम्पदाको विकास गर्नुपर्ने देखिन्छ । बढ्दो अतिक्रमण, लुकिचोरी हुने कटानी, चरिचरन, आगलागी आदि कारण र भैरहेको विनासले वन क्षेत्रको अवस्था संवेदनशिल भएको छ । त्यसैले गर्दा गाउँका वडाहरूमा वन संरक्षण समिति तथा वन उपभोक्ता समितिहरू गठन गरी वन संरक्षणको प्रयास थालनी गरिएको छ । विगतका वर्षहरूको तुलनामा जनताको सहभागिताको परिणाम स्वरुप गाउँको सघन अवस्थामा रहेका कतिपय वनक्षेत्रहरू पुनः प्राकृतिक अवस्थामा रुपान्तरित हुन पुगेका छन् । सामुदायिक वनहरूमा विद्यमान सामुदायिक वनको संरक्षण र आफ्नो सामुदायिक वन प्रतिको लगावको परिणाम स्वरुप उजाड र मरुभुमीकरणतर्फ उन्मुख हुँदै खोला र खहरेहरूले ग्रसित भएका वनक्षेत्रहरू आज प्राकृतिक रुपमा नै पुनास्थ्यपना एवं संरक्षित भएका छन् । सामुदायिक वनका उपभोक्ताहरूसँग प्राविधिक ज्ञान र वनको उत्पादकत्व बढाउन आवश्यक पर्ने प्रविधिको अभाव खड्किएको छ । तसर्थ वन व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सामुदायिक वनहरूलाई स्रोत, साधान र प्रविधि युक्त जनशक्तिको रुपमा विकास गर्नु जरुरी छ । उपभोक्ताहरूमा रहेका परम्परागत वन संरक्षण विधिहरूका अतिरिक्त आधुनिक विधि र कार्यशैलीहरू विकास गराउन जरुरी देखिन्छ । दक्षता अभिवृद्धिका निमित्त सामुदायिक वन उपभोक्ताहरूलाई तालिम, गोष्ठी र अवलोकन भ्रमणका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ ।

बौद्धिक सम्पदा अधिकारको विषयमा र जीएटीटी डब्ल्यु टी ओ सम्बन्धी अवधारणहरूका विषयमा सामुदायलाई आवश्यक जानकारी गराउन प्रशिक्षण दिनुपर्ने देखिन्छ । जिविस र सामुदायिक वन उपभोक्ता समूहहरूको सहभगितामा सामुदायिक वनभित्र गैरकाष्ठ वन पैदावारको उत्पादनलाई प्रोत्साहित गर्न विभिन्न तालिम गोष्ठी र अध्ययन भ्रमणहरू गरिँदै आएका छन् । यसले स्थानीयस्तरबाटै वन व्यवस्थापनका सम्पूर्ण पक्षहरूलाई अघि बढाउन र वनक्षेत्रको उत्पादकत्व बढाउन थप मद्दत मिल्ने देखिन्छ । सामुदायिक वनहरूको सुदृढीकरणका निमित्त जिल्ला वन कार्यालयको जनशक्ति मात्रले सम्भव नदेखिएकोले उक्त कार्यको निमित्त वनसँग आबद्ध विभिन्न गैससहरूलाई गाउँमा परिचालन गर्नुपर्ने देखिन्छ । सामुदायिक वनहरूको आयस्रोतमा वृद्धि गर्न विभिन्न किसिमका जडिबुटीका प्रजातिहरूमा आधारित उद्योगहरूको स्थापना गर्ने खालका कार्यक्रमहरूलाई प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । वन नीति २०७१ का अनुसार वन संरक्षणमा चाल्नुपर्ने कदमहरु निम्न बुँदाहरुमा उल्लेख गरिएको छ ।

• घरायसी तथा अन्य इन्धनको रुपमा प्रयोग हुने काठ वा वन पैदावारको विकल्पमा अन्य वैकल्पिक उर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने ।
• बहुपक्षिय सहभागितात्मक संयन्त्रको विकास गरी चोरी शिकारी, अवैध कटान, वन पैदावारको अवैध संकलन, अत्यधिक चरिचरन, मिचाहा प्रजाती र डढेलो नियन्त्रण गर्ने ।
• पर्यटन प्रवर्द्धनको विकासका लागि राष्ट्रिय वनमा तोकिएका प्रजातिका वन्यजन्तु तथा विरुवाको संरक्षण, प्रजनन् र उपयोग गर्ने ।
• दिगो वन व्यवस्थापनको नीति अवलम्बन गर्ने ।
• जैविक विविधता, सिमसार क्षेत्रको संरक्षण र जलवायू परिवर्तनको विषयमा एकिकृत कार्यक्रम संचालन गर्ने ।



८.१० खनिज


भू–गर्भ बनावट अनुसार सोलुखुम्बु जिल्लामा तामा, फलाम, सिसा, सुन र अभ्रक जस्ता खनिज पदार्थको प्रशस्त सम्भावना रहे तापनि अध्ययन अनुसन्धानको कमीले यस जिल्लामा कुन कुन खानी, कहाँ र के–कति मात्रामा पाईन्छन् त्यसको एकीन गर्न गाह्रो रहेको छ । यस नेचासल्यान गाउँपालिकामा भएका खनिज पदार्थहरुको खोजी कार्य हुन नसकेको कारण कुन खनिज कति मात्रमा यहाँ पाइन्छ भन्न सक्ने अवस्था भने छैन ।



८.११ भू–संरक्षण


भू–क्षय हुनबाट जोगाउने तथा माटोको उर्वराशक्तिलाई कायम राख्न गरिने विविध क्रियाकलापहरूलाई भू– संरक्षण सम्बन्धी क्रियाकलापको रुपमा लिन सकिन्छ । गाउँको भू–भागहरूलाई विभिन्न जलाधार क्षेत्रहरूमा विभाजन गरी ती क्षेत्रहरूको वैज्ञानिक व्यवस्थापन गर्दै भू–संरक्षण कायम गर्दै जलाधार क्षेत्रमा रहेका विविध प्राकृतिक स्रोतहरु जस्तै–जल, जंगल, जनावर, जमिन र जनताको संरक्षण संवर्द्धन र उपयोग गर्ने कार्यलाई एकिकृत जलाधार व्यवस्थापन भनिन्छ ।