खण्ड २ : नेचासल्यान गाउँपालिकाको परिचय



२.१ गाउँपालिकाको संक्षिप्त परिचय


नेचासल्यान गाउँपालिका पुर्वी नेपालको प्रदेश नं. १ अन्तर्गत सोलुखुम्बु जिल्लाको दक्षिणी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि. सं. २०७३ सालमा स्थानीय विकास मन्त्रालयको ७५३ स्थानीय तह लागू गर्दा सोलुखुम्बु जिल्लामा साविकको सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाई समायोजन गरेर नेचासल्यान गाउँपालिका बनाइएको हो । नेचासल्यान गाउँपालिकाको कुल क्षेत्रफल ६७.५४ वर्ग कि. मि. रहेको छ । यस गाउँपालिकाको कार्यालय १४५० मिटर उचाइमा छ । विश्व मानचित्रमा यसको अवस्थिति ८६° ३२’ १३” उत्तरी आक्षांशदेखि ८६° ४०’ ५६” आक्षांशसम्म र २७° २०’ १६” पुर्वि देशान्तरदेखि २७° २४’ २६” देशान्तरसम्म छ ।

यो गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १५,५२६ तथा घरधुरीको संख्या २,७४९ रहेको छ । हिन्दू, बौध्द र क्रिष्चियन धर्मावलम्बीहरू बसोबास गर्ने यो ठाउँमा ब्राम्हण, क्षेत्री, राई, शेर्पा, थुलुङ्ग, वाहिंग, तमाङ, मगर, सार्की र नेवार जातिको बाहुल्यता रहेको छ । यहाँको मुख्य खाध्यन्न बाली तर्फ धान, मकै, गहुँ, कोदो र फलफूलतर्फ आँप, कटहर, लिचि, केरा, सुन्तला, मेवा, नासपाती, किवी, आदि उत्पादन हुन्छ । पञ्चमी डाँडा, सुकेपोखरी, फुर्केपोखरी, गौरीटार, हावा आउने ओडार, थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकिय ठाउँहरू समेत रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा दुधकौशिका थुलुंग गाउँपालिका र खोटाङ जिल्ला, पश्चिममा सिध्दिचरण नगरपालिका र ओखलढुङगा जिल्ला, उत्तरमा सोलु दुधकुण्ड र थुलुंग दुधकोशि नगरपालिका र दक्षिणमा चिसान्खुघडी गाउँपालिका र ओखलढुङगा जिल्ला सम्म फैलिएको छ ।

क्षेत्रफल

• ६७.५४ वर्ग कि.मि
• ८६०८ हेक्टर

प्रशासनिक विभाजन

• संघिय सरकार
• प्रदेश सरकार
• स्थानीय सरकार(नेचासल्यान गापा)

भौगोलिक अवस्थिति

सिमाना

• पूर्व : खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका र थुलुंग दुधकोशि गाउँपालिका
• पश्चिम : ओखलढुङगा जिल्लाको सिद्धिचरन नगरपालिका
• उत्तर : सोलु दुधकुण्ड र थुलुंग दुधकोशि गाउँपालिका
• दक्षिण : ओखलढुङगा जिल्लाको चिसंकगढी गाउँपालिका

अवस्थिति

• ८६° ३२’ १३” उत्तरी आक्षांशदेखि ८६° ४०’ ५६” आक्षांशसम्म
• २७° २०’ १६” पुर्वि देशान्तरदेखि २७° २४’ २६” देशान्तरसम्म


नक्सा नं. १ : गाउँपालिकाको संक्षिप्त विवरणको नक्सा




तालिका नं. २.१ : गाउँपालिकाको क्षेत्रफल विवरण

वडा नं. क्षेत्रफल(वर्ग कि.मि.)
२६.६४
१२.६१
७.३६
७.५४
१३.३९
जम्मा ६७.५४

साविकको सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाई समायोजन गरेर बनाइएको यस नेचासल्यान गाउँपालिकाको क्षेत्रफल ६७.५४ वर्ग कि.मि रहेको छ जुन नेपालको कूल क्षेत्रफलको ०.०४५ प्रतिशत हुन जान्छ । ५ वटा वडामा विभाजित यस गाउँपालिकामा क्षेत्रफलको हिसाबले हेर्दा तुलनात्मक रुपमा देशको अन्य स्थानीय तह भन्दा सानो देखिन्छ । २६.६४ वर्ग कि.मि (३९.४४ प्रतिशत) ओगटेको वडा नं. १, गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो भने ७.३६ वर्ग कि.मि ( १०.८९ प्रतिशत) ओगटेको वडा नं. ३ सबैभन्दा सानो वडाको रुपमा रहेको छ । साथै, १३.३९ वर्ग कि.मि ओगटेको वडा नं. ५ दोस्रो र १२.६१ वर्ग कि.मि ओगटेको वडा नं. २ तेस्रो ठूलो वडा हुन् । ७.५४ वर्ग कि.मि क्षेत्रफल भएको वडा नं. ४ चौथो ठूलो वडा हो । वडाको क्षेत्रफलको विवरण तलको चित्रमा देखाइएको छ।


नेचासल्यान गाउँपालिकाको वडागत क्षेत्रफल विवरण वर्गचित्रमा




२.२ भूक्षेत्र (टोपोग्राफी, भिरालोपन)


नक्सा नं. २.२ : नेचासल्यान गाउँपालिकाको भिरालोपना दर्शाउने नक्सा




नक्सा नं. २.३ : नेचासल्यान गाउँपालिकाका जमिनको उचाईअनुसार नक्सा




२.३ जमिनको उपयोगको विवरण

भौगोलिक विविधता भएको यस गाउँपालिकाको भू–बनावट कडा चट्टान, बलौटे माटो, रातो माटो, चिम्टाइलो माटो आदिको समिश्रणबाट निर्माण भएको छ । हरियो वन नेपालको धन भनेझैँ गाउँपालिकाको अधिकतम क्षेत्रफल वनजंगलले ढाकेको देखिन्छ । उर्वर जमिन पनि प्रशस्त मात्रामा भएकोले गाउँपालिकामा विभिन्न प्रकारका हिउँदे बाली, नगदे बाली, तरकारी र फलफूल पनि उत्पादन हुने गरेको छ ।

नक्सा नं. २.४ : गाउँपालिकाको जमिनको उपयोगको नक्सा



२.४ धार्मिक, प्राकृतिक तथा पर्यटकीय महत्वका स्थलहरु


विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको प्राकृतिक सौन्दर्यको धनी, जैविक विविधता एवं साँस्कृतिक विविधताले भरिपूर्ण रहेको कारण नेपालको आकर्षक पर्यटन गन्तव्यहरू मध्ये नेचासल्यान गाउँपालिकालाई पनि महत्वका साथ हेरिन्छ । विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठमन्दिर, पोखरी र भ्यु प्वाइन्टहरुले यस गाउँपालिकामा अझ सुन्दरता थपेको छ ।

गाउँपालिका स्थित मन्दिरको तस्विर



गाउँपालिकाका मठमन्दिरहरु

• कालिकादेवी मन्दिर
• सिंहदेवी मन्दिर
• जालपादेवी मन्दिर
• कुन्तादेवी मन्दिर
• भेडीखोर मन्दिर
• सेतिदेवी मन्दिर
• शिव मन्दिर
• गुम्बा

गाउँपालिकाका भ्यु प्वाइन्टहरु

• गौरीटाप डाँडा
• ख्याम्पु डाँडा
• थाम डाँडा
• फुर्के डाँडा
• पार्क डाँडा
• केशरी डाँडा
• आहाले डाँडा
• वर डाँडा
• धला डाँडा
• चयाथान डाँडा
• भुवान डाँडा

पर्यटकीय सम्भाव्यता

• होम स्टे : तुइन्टार, ख्याम्पु, गैरी, फुर्के
• कृषि पर्यटन
• धार्मिक पर्यटन
• दृश्यावलोकन


झोलुंगे पुलबाट खोला र आर्यघाट हेर्दै मानिसहरु


यी क्षेत्रहरूको वरिपरि केही विकासका पूर्वाधारहरू निर्माण गरी, संरक्षण तथा संवर्द्धन गरी प्रचार प्रसार गर्न सकेको खण्डमा यस गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी राम्रो आम्दानी तथा रोजगारीका अवसरहरू प्राप्त गर्न सकिन्छ भन्नेमा दुई मत छैन ।


नक्सा नं. २.५ : धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरूको नक्सा



२.५ नदी तथा तालहरु


जल सम्पदाको दृष्टिले नेपाल विश्वको दोस्रो सबैभन्दा समृद्ध राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदिनालाहरू रहेका छन् । यी नदीनालाहरूबाट सिँचाई सुविधा, खानेपानीको आपूर्ति, जल यातायात, पर्यटन र मत्स्य पालनको क्षेत्रमा बहुआयामिक रुपले प्रयोग गर्न सकिने देखिन्छ । यस गाउँपालिकामा पनि धेरै नदिनाला र पोखरीहरु रहेका छन् जसलाई विभिन्न रुपमा प्रयोग गरिएको छ ।

गाउँपालिकाको पश्चिम सिमानामा रहेको सोलु नदी नै यहाँको प्रमुख नदीको रुपमा रहेको छ । यो नदी उत्तरतर्फबाट दक्षिणतिर वडा नं. २ र ४ हुँदै बगेको छ । पर्यटकीय दृष्टिले ज्यादै महत्व बोकेको यस सोलु नदीको प्राकृतिक बहावले सबैको मन आनन्दित तुलाउने गरेको छ । गाउँपालिकामा सिंचाई, खानेपानी, तथा विद्युत उत्पादनमा समेत सोलु नदीलाई उपयोग गर्न सकिने देखिन्छ । यस बाहेक गाउँमा अन्य खोला तथा खहरेहरु पनि प्रशस्त मात्रामा बग्ने गरेका छन् ।


गाउँपालिकाका मुख्य नदी/खोला

• सोलु नदी
• दुधकोशी नदी
• ठाडो खोला
• खहरे खोला


गाउँपालिकाका मुख्य पोखरी

• सुके पोखरी
• फुर्के पोखरी
• चिसापानी पोखरी
• सिहद पोखरी
• भेडीखोर पोखरी

स्थायी मुहान नभएकोले यस गाउँपालिकामा भएका पोखरीहरुमा वर्षायाममा मात्र पानी जम्मा हुने गरेको छ । हिउँदको समयमा सबै पोखरीहरु सुख्खा रहने गर्दछन् । तसर्थ पोखरीहरुको संरक्षण र उपयोग गर्न आवश्यक पानीको श्रोतको खोजी गर्न एकदम आवश्यक देखिन्छ ।


गाउँपालिका स्थित खहरे खोलाको झलक


नक्सा नं. २.६ : गाउँपालिकाका नदी, ताल तथा पोखरीहरूको नक्सा