खण्ड ७ : सामाजिक पूर्वाधार तथा सेवा



७.१ शिक्षा


कुनै पनि देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । यसलाई मानव विकासको सूचकको रूपमा लिइन्छ । यसै सिलसिलामा यहाँ नेचासल्यान गाउँपालिकाको शैक्षिक स्थिति देखाउन खोजिएको छ । विकासको प्रमुख आधारशिला शिक्षा नै हो, शिक्षाको माध्यमबाट व्यक्तिमा अन्तर्निहित प्रतिभाहरूको विकास हुन गई समग्र समाज र राष्ट्रमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सर्वमान्य सिद्धान्त रहि आएको छ । सचेत, अनुशासित तथा उत्पादनशिल जनशक्ति निर्माण गर्नका लागि शिक्षा क्षेत्र नै सर्वोपरि भूमिका अनिवार्य रहन्छ । योजना निर्माणमा गरिबी निवारण तथा चौतर्फी विकासका लागि शिक्षा क्षेत्रलाई मानव विकासको एक सशक्त माध्यमको रुपमा नीतिगत रुपमा अवलम्बन गरिएको छ । नेपालको संबिधान २०७२ को भाग ३, धारा ३१ मा शिक्षा सम्बन्धि हकको सन्दर्भमा देहायबमोजिमका व्यवस्था गरिएको छ ।

• प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
• प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक हुनेछ ।
• अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ ।
• दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धि अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ ।
• नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आङ्गनो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ ।

संविधान तथा योजनाको ठूल्ठूला बहस भएता पनि शिक्षाको हकमा विश्वको सामु तुलनात्मक अध्ययन गर्दा उल्लेखनीय विकास भने भएको देखिँदैन । शिक्षाले ज्ञान र सिपको प्रयोगात्मक परिवर्तन ल्याउने, पिछडिएको, विपन्न र अभावग्रस्त वर्गको पक्षपोषण गर्ने, अवोध बालबालिका एवं आवाज विहिनका पक्षमा रही देशलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्नुपर्दछ । देशका लागि आवश्यक नेतृत्वदायी क्षमताको विकास, अथकरूपमा सिक्ने र सिकाउने प्रवृति, सामाजिक र मानवीय मूल्यमान्यता र आत्मविश्वास जस्ता आधारभूत समग्र पक्षको विकास गर्न सघाउनु नै गुणस्तरीय शिक्षाको विशेषता हो । यस्तो शिक्षामा विश्लेषणात्मक र मौलिक सोचको पर्याप्तता हुनुपर्छ । निर्दिष्ट सिकाइमात्र स्तरीयता होइन । आज व्यावहारिक परिवर्तन, श्रमसँगको आस्था, जीवनोपयोगी खोज अनुसन्धान, सान्दर्भिकता देश र संस्कृतिप्रति प्रेम, नैतिक जिम्मेवारी, मौलिकरूपमा विज्ञानको उपयोग गर्न स्तरीय शिक्षाको आवश्यकता छ ।

शिक्षा क्षेत्रको परिसूचकलाई त्यस क्षेत्रमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमबाट निर्धारण गर्न सकिन्छ । यसै सिलसिलामा यस नेचासल्यान गाउँपालिकाको शैक्षिक स्थिती देखाउन यहाँको साक्षरता स्थिति, शिक्षण संस्थाको विवरण, शिक्षक दरबन्दी विवरण, विद्यार्थीको भर्ना, तहगत तथा विषयगत शैक्षिक विवरण देखाउन खोजिएको छ जसबाट नेचासल्यान गाउँपालिकाको शैक्षिक अवस्थालाई बुझी अगामी दिनमा सुधार गर्न नीति तथा कार्यक्रम बनाउन सकिन्छ ।



७.१.१ साक्षरता स्थिति


सामाजिक एवं मानव विकासको एक महत्वपूर्ण आयमको रुपमा रहेको शिक्षा क्षेत्रमा नेचासल्यान गाउँपालिका देशका अन्य गाउँपालिका को तुलनामा केही पछाडि रहेको देखिन्छ । पछिल्लो राष्ट्रिय जनगणना, २०६८ अनुसार यस गाउँपालिका को साक्षरता दर ५८.८५ प्रतिशत (नेपालको ६५.९४ प्रतिशत) रहेको छ । लैंगिक हिसाबले यो गाउँपालिका मा पनि अन्यत्र झैं केही विभेद रहेको पाईन्छ । जस्तैः यस गाउँपालिका को पुरुषको साक्षरता दर ६९.८९ प्रतिशतको तुलनामा महिलाको साक्षरता दर ४८.७८ प्रतिशत मात्र रहेको छ । पुरुष र महिलाको साक्षारता दरमा लगभग २१.१२ प्रतिशतको फरक देखिन्छ । सबैभन्दा अग्रस्थानमा रहेको काठमाडौ जिल्लाको साक्षरता दर ८६.२५ प्रतिशत रहेको छ भने पुच्छारमा रहेको रौतहट जिल्लाको साक्षरता दर ४१.६९ प्रतिशत रहेको छ । यस गाउँपालिकाको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ७.१ : साक्षरता दरको विवरण


नेचासल्यान गाउँपालिकाको साक्षरताको स्थिति वर्णन गर्नुपर्दा सबै भन्दा बढि साक्षरता दर वडा नं. ४ मा ८५.७० प्रतिशत रहेको छ जसमध्ये पुरुष साक्षरता दर ९१.२३ प्रतिशत र महिला साक्षरता दर ७९.२५ प्रतिशत रहेको छ । त्यस्तै गरि सबै भन्दा कम साक्षरता दर वडा नं. १ मा रहेको छ । जसमा कुल साक्षरता दर ७४.९९ प्रतिशत रहेको छ । जसमध्ये पुरुष साक्षरता दर ८५.०४ प्रतिशत र महिला साक्षरता दर ६४.४९ प्रतिशत रहेको छ । माथिको तथ्याङ्कलाई हेर्दा यस नेचासल्यान गाउँपालिका शैक्षिक हिसाबमा केहि अगाडि रहेको देखिन्छ । यस गाउँपालिकाको साक्षरता दरलाई तलको स्तम्भ चित्रबाट प्रष्ट रुपमा देखाइएको छ ।



७.१.२ शैक्षिक जनशक्तिको विवरण


तालिका नं. ७.२ : शैक्षिक जनशक्तिको विवरण


यस तालिकामा नेचासल्यान गाउँपालिकामा विभिन्न शैक्षिक तह उत्तीर्ण गरेका जनशक्ति देखाइएको छ । जसमा ४२६ जना बालविकास पूर्व १,६७० जना प्राथमिक तह, ९३२ जना नि.मा.वि. तह, १,०५१ जना मा.वि. तह, १,३९२ एस.एल.सी. तह, १,६२२ जना प्रमाणपत्र तह, ६९७ जना स्नातक तह, १८६ जना स्नातकोत्तर तह र ८ जना विद्याबारिधि तह अध्ययन गरेको देखिन्छ । यसलाई तलको स्तम्भ चित्रबाट देखाइएको छ ।



७.१.३ गाउँपालिका स्थित विद्यालय, शिक्षक र विद्यार्थीहरूको विवरण


तालिका नं. ७.३ : गाउँपालिका स्थित विद्यालय, शिक्षक र विद्यार्थीहरूको विवरण


*** साथै, यस गाउँपालिकामा सोलुखुम्बु जिल्लाकै एक मात्र वेद विद्याश्रम गुरुकुल संचालित छ । करिब ३ रोपनी जग्गामा निर्मित यस गुरुकुलमा सबै जातजातिका गरी कुल ३२ विद्यार्थी अध्ययनरत छन् ।



७.१.४ शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू


(१) विद्यालय छाड्ने प्रवृत्ति उच्च हुनु

विद्यार्थीहरू प्राथमकि तह पुरा नगर्दै विद्यालय छाड्ने, विभिन्न किसिमका छात्रवृत्ति उपलब्ध गराइएको भएता पनि दलित, आदिवासीहरूको विद्यालय छाड्ने प्रवृत्ति उच्च हुनु शैक्षिक विकासको बाधकको रुपमा देखिएको छ ।

(२) कक्षा दोहो¥याउने प्रवृत्ति बढी हुनु

प्राथमिक तहको विद्यार्थीहरूको तथ्याङकलाई आधार मानेर हेर्दा कक्षा दोहो¥याउने प्रवृत्ति बढी हुनुले शैक्षिक गुणस्तर सुधारको आवश्यकतालाई इङ्गित गरेको छ ।

(३) दलित, आदिवासी जनजाति भर्नादर न्यून हुनु

विपन्न, दलित, आदिवासी जनजातिको भर्ना दर न्यून हुनु नगरको शैक्षिक विकासको चुनौतीको रुपमा रहेको छ ।

(४) विद्यालयहरु आर्थिक रुपले कमजोर हुनु

नेपाल सरकारबाट प्राप्त सीमित अनुदान तथा विद्यालय व्यवस्थापन समितिको समेत आवश्यक श्रोत जुटाउन नसकेको कारणले बहुसंख्य विद्यालयहरूको आर्थिक स्थिति निकै कमजोर देखिन्छ । दुर्बल आर्थिक अवस्थाले गर्दा शैक्षिक सामाग्री जुटाउन तथा अन्य अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न बाधा पुगेको देखिन्छ ।

(५) अभिभावकहरु चनाखो नहुनु

बालबालिकाहरूको शैक्षिक प्रगतिबारे अभिभावकहरूको चासो कम हुनु तथा विद्यालयद्वारा समेत बालबालिकाहरूको स्थितिबारे अभिभावकलाई जानकारी नदिइनुले पनि शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।

(६) शिक्षक दरबन्दी कम हुनु

दरबन्दी अनुसार शिक्षकको कमी हुनु तथा केही समयका लागि कुनै शिक्षकको अनुपस्थिति हुँदा कक्षाहरू खाली रहने गरेको देखिन्छ । यसरी शिक्षकहरू तालिममा जाँदा, सुत्केरी बिदा वा सञ्चित बिदामा रहँदा विद्यालयले अल्पकालित शिक्षकको व्यवस्था गर्न सक्ने प्रावधान रहेको छैन । एकातिर नेपाल सरकारबाट आवश्यक दरबन्दी उपलब्ध नहुनु अर्कोतर्फ स्थानीय निकाय एवम् व्यवस्थापन समितिले त्यसको आवश्यक व्यवस्था गर्न नसक्नु आदि कारणले गर्दा आवश्यक प्रतिफल प्राप्त गर्न सकिएको देखिँदैन ।

(७) राजनीतिकरण हुनु

विभिन्न राजनीतिक पार्टीहरूले शिक्षकहरूको संगठनहरू मार्फत शिक्षकहरूलाई आफ्नो पार्टीस्वार्थ पूरा गर्न प्रयोग गरिरहेको देखिएको छ । राजनीतिक पार्टीहरूको दबावका कारण जिल्ला शिक्षा कार्यालयले त्यस्ता शिक्षकहरूमाथि अनुशासनको कारवाही समेत गर्न नसकेको पाइएको छ । यस बाहेक व्यवस्थापन समिति समेत शिक्षकहरूलाई आफ्नो दलगत स्वार्थ परिपूर्ति गर्ने साधनका रुपमा प्रयोग गर्दै आएको देखिएको छ ।

(८) शिक्षकहरुमा प्रतिबद्धताको कमी

शिक्षकहरूले शिक्षण पेशालाई आत्मसात गर्न नसक्नु तथा विद्यार्थीले प्राप्त गर्ने प्रतिफलको जिम्मेवारी लिन नसक्नु पनि शैक्षिक प्रगतिको बाधकको रुपमा देखा परेको छ । प्रायः पठन–पाठन समयमा नसिद्धिनु पनि मुख्य समस्याको रुपमा देखिएको छ ।

(९) आधुनिक प्रविधिको प्रयोग नहुनु

सूचना तथा प्रविधिको क्षेत्रमा आएका अत्याधुनिक परिवर्तन र सुविधाबाट बहुसंख्यक विद्यालयहरू बञ्चित हुनु पनि शैक्षिक विकासमा बाधा पुगेको देखिन्छ । प्रायः धेरै विद्यार्थी र शिक्षकहरू कम्प्युटर र इन्टरनेटको प्रयोगको सुबिधाबाट बञ्चित रहेको छन् ।



७.२ स्वास्थ्य


प्रदेश नं. १ को हिमाली भागमा अवस्थित यो गाउँपालिका स्वास्थ्य सेवाको हिसाबले खासै सुगम नभएता पनि स्वास्थ्य, सरसफाई तथा समुदायको बानी व्यवहार स्वास्थ्यकर नै देखिन्छ । राजनैतिक रुपमा ५ वडाहरूमा विभाजित यस गाउँपालिका प्राय जसो जनताले आधारभूत स्वास्थ्य सेवा लिन बाट बञ्चित हुनु परेको छैन । हालसम्म गाउँपालिकामा एउटा पनि सरकारी अस्पताल नभए पनि गाउँपालिका क्षेत्रमा १ वटा प्राथमिक स्वास्थ केन्द्र, २ वटा स्वास्थ्य चौकी, १ वटा सामुदायिक अस्पताल रहेका छन् । स्वास्थ्य संस्थाहरूमा औषधीको कमी मुख्य समस्याको रुपमा रहेको देखिन्छ । दुर्गम वडाहरूमा बस्ने परिवारहरूले स्वास्थ्य सेवाका लागि धेरै समय खर्चिनु पर्ने बाध्यता छ भने वर्षातको समयमा अझ कठिनाई झेल्नु पर्ने अवस्था छ ।

तालिका नं. ७.४ : स्वास्थ संस्थाको संख्या



तालिका नं. ७.५ : दिर्घरोगबाट संक्रमित जनसंख्याको विवरण




७.२.१ गाउँघर क्लिनिक र नियमित खोप


नेपाल सरकाले आधारभूत स्वास्थ्य सेवालाई जनताको घर दैलोमा पु¥याउने नीति अनुरुप मौजुदा स्वास्थ्य संरचनाले सम्पूर्ण जनताको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको महशुस गरी आ.व. २०५२/२०५३ सालमा गाउँघर क्लिनिकको स्थापना गरी आधारभूत स्वास्थ्य सेवाहरू दिँदै आइरहेको छ । खोप तथा मासिक क्लिनिकहरू सञ्चालन गर्नको लागि हरेक गाउँपालिकाले विभिन्न स्थानहरूको पहिचान गर्दछ । गाउँका विभिन्न स्थानमा गाउँघर क्लिनिक कार्यक्रम संचालन भएको पाइएको छ । यद्यपी तिनीहरूलाई खटाइएको कर्मचारीहरूको नियमित उपस्थिति भने कम पाइएको छ भने औषधीको आपुर्ति पनि उपलब्ध छैन ।

शारीरिक वृद्धिको लेखाजोखा जस्ता अन्य सेवाहरू स्वास्थ्य चौकीको तहमा मात्र उपलब्ध गराइन्छ । गाउँपालिकामा नियमित खोप कार्यक्रम नियमित रुपमा नै चालु रहेको छ तथा यसले ढाक्ने लक्षित वर्ग पनि बढ्दो क्रममा पाइएको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूद्वारा संचालित यी गाउँघर क्लिनिकहरूबाट परिवार नियोजन सेवा, मातृ शिशु सेवा, वृद्धि अनुगमन, झाडापखाला नियन्त्रण र उपचार, स्वास्थ्य शिक्षा, सामान्य उपचार र प्रेषण आदि अन्य सेवाहरू उपलब्ध गराउँदै आएका छन् ।



७.२.२ एच. आई. भी. एड्सको अवस्था


सन् १९८८ मा पहिलो संक्रमण भेटिएपछि नेपालमा एचआईभीको प्रकोप विस्तारै बालबालिकामा पनि फैलिन थालेको छ । बालबालिका पनि यो समस्याबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित हुदै गएका छन् । हाल नेपालमा एचआईभी संक्रमित बालबालिकाको संख्या उल्लेख्य रहेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार २०७१ को साउन महिना सम्म नेपालमा भेटिएका जम्मा २२,९९४ एचआइभी संक्रमण मत्तय १६१८ जना १५ वर्ष मुनिका बालबालिकामा एचआइभी संक्रमण भेटिएको छ ।

भारतलगतका अन्य मुलुकमा कामको खोजीमा जाने अभ्यास, बढ्दो रुपमा भइरहेको देह व्यापार, चेलीबेटी बेचविखन, सुईद्वारा लागुपदार्थको प्रयोग, अशिक्षा र गरिबीजस्ता सामाजिक समस्याले एचआइभीको प्रकोप बढाउनमा भूमिका खेलिरहेका छन् । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ अनुसार नेचासल्यान गाउँपालिका एचआइभीको प्रकोप बच्न सफल रहेको छ ।



७.२.३ सुरक्षित मातृत्वको अवस्थाको विवरण


बालबालिकालाई गर्भमा रहँदादेखि र जन्मेपछि स्याहार तथा रेखदेख गर्न सकिएन भने उनीहरू विभिन्न रोगबाट संक्रमित हुने जोखिम हुन्छ । गर्भमा रहँदा मूलतः आमाको उमेर, पोषण, आराम, मादक तथा सुर्तिजन्य पदार्थको सेवन लगायतका अवस्थाले बालबालिकाको स्वास्थ्य निर्भर रहन्छ । बालबालिका स्वस्थ जन्मनका लागि गर्भवती महिलाले कम्तीमा पनि चारपटक नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ र आवश्यक खोप (टि.टि) तथा आइरन, भिटामिन चक्कीहरू नियमित सेवन गर्नुपर्दछ । कम उमेरमै गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा हानिनोक्सानी पुग्ने भएकाले सरकारले कानुनी रुपमा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ । तर १७ प्रतिशत किशोरीहरू (१५ देखि १९ वर्ष उमेरका) गर्भवती भएका वा आमा भइसकेका हुन्छन् ( नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०११ अनुसार ) ।

सरकारले स्वास्थ्य सेवा विभागमार्फत सुरक्षित मातृत्व तथा नव शिशु स्वास्थ्यका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले आमा र बालबालिकाको मृत्युदर घटाउन धेरे मद्दत पु¥याएको छ । तर पनि उक्त सेवाहरू कार्यक्रम केन्द्रित भएका कारण सबै लक्षित वर्गमा अझै पुग्न सकेको देखिँदैन ।

यस नेचासल्यान गाउँपालिकामा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत रहेका बर्थिङ साईटहरूमा स्वास्थ्य चौकी, सरकारी अस्पताल, क्लिनिक, आदी हुन् । जनचेतनाको कमी, भौगोलिक विविधताले सिर्जित कठिनाइ, स्वास्थ्यसंस्था पुग्न धेरै समय लाग्ने इत्यादी कारणबस धेरैजसो गर्भवती महिलाहरुको घरमै सुत्केरी गराइएको पाइन्छ । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ अनुसार नेचासल्यान गाउँपालिमा ५४ जना महिलाहरु गर्भवती भएको पाइएको छ ।



७.२.४ खोपको विवरण


बालबालिका भविष्यमा निर्माता हुन् । यसको लागि यिनीहरू स्वास्थ्य र निरोगी हुनु आवश्यक छ । बालक अवस्थामा उनीहरूलाई बी.सी.जी. एक पटक, डि.पि.टी. तीन पटक, दादुरा एक पटक, पोलियो र भिटामिन तोकिएको मात्रामा दिनै पर्दछ । बालबालिकाहरूको लागि पाँच ओटै खोपहरू नियमित पुरा मात्रामा दिनु पर्दछ । नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । खोप कार्यक्रम कम खर्चिलो तथा मितव्ययी रुपमा गरिने स्वास्थ्य क्षेत्रको एउटा प्रभावकारी प्रयत्न हो । खोप कार्यक्रमले उल्लेख्य रुपमा बालमृत्युदर घटाउन र विभिन्न रोगलाई रोकथाम गर्न सहयोग पुर्याएको पाइन्छ जसले गर्दा सहस्राब्दी विकास लक्ष्यको बालमृत्युदर घटाउने लक्ष्य प्राप्त गर्न सहयोग पुगेको छ।

तालिका नं. ७.६ : बालबालिकालाई दिइएको खोपको विवरण




७.२.५ शिशु तथा ५ वर्ष बाल मृत्युदर


नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार शिशुमृत्यदर सन् १९९६ मा ७९ प्रतिहजार थियो भने सन् २००१ मा क्रमशः घट्दै ६४ प्रतिहजारमा पुगेको छ । सन् २००६ को उक्त सर्वेक्षणअनुसार ४८ प्रतिहजार पुगेको थियो । त्यस्तै सन् २०११ को सर्वेमा शिशु मृत्युदर ४६ प्रतिहजारमा झरे पनि अघिल्लो सर्वेसँग तुलना गर्दा झिनो मात्रै अन्तर देखिएको छ ।

त्यसपछि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नवजात शिशु मृत्युदर २१ प्रति हजार, शिशु मृत्युदर ३२ प्रति हजार र पाँच वर्ष मुनिको बाल मृत्युदर ३९ प्रति हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेचासल्यान गाउँपालिकाको पाँच वर्ष मुनिको बाल मृत्युदर तथा शिशु मृत्युदरको तथ्याङ्क नभएता पनि राष्ट्रिय तथ्याङ्कले यहाँको अवस्था अनुमान गर्न सकिन्छ ।



७.२.६ बालपोषण सम्वन्धी विवरण


कुनै पनि ठाउँको पोषणको अवस्था कस्तो छ भन्ने कुरा त्यस ठाउँका बालबालिकालाई हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । पोषित बालबालिकालाई कुनै पनि ठाउँको सामाजिक र आर्थिक विकासको सुचकको रुपमा हेर्न सकिन्छ । सरकारले पनि पोषणलाई प्राथमिकता दिई ५ वर्ष मुनिका बालबालिकाहरूलाई नियमित रुपमा बालवृद्धि अनुमान गर्दै आएको छ ।

बालअधिकार सम्बन्धि महासंन्धी, १९८९ ले समेत बालबालिकालाई अवहेलना, वेवास्ता, हेलचेक्राइ, दुव्यर्वहार, हिंसा लगायतबाट जोगाई खाना र पोषणको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । नेपालको संविधान (२०७२) ले पनि खाद्य सम्प्रभुतालाई मौलिक हकका रुपमा राखेको छ ।




७.३ नागरिक सुरक्षा सेवा


७.३.१ सामाजिक सूचकहरू


यस गाउँपालिकाको शारीरिक रुपले कमजोर एवं सामाजिक हिसाबले पछाडि पारिएका अनाथहरू, बालबालिकाहरू, वृद्ध–वृद्धाहरू तथा अपाङ्गहरूको सुरक्षा एवं स्याहार सुसारको लागि अपाङ्ग पुर्नस्थापना केन्द्र, वृद्धाश्रमहरू, बालक्लबहरू र बालविकास केन्द्रहरू रहेका छन् । यही घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार यस गाउँपालिकामा ७० वर्ष र सो भन्दा माथिल्लो उमेरका वृद्ध-वृद्धाको संख्या ७४६ जना रहेको छ । त्यसै गरी कुल अपाङ्गहरूको संख्या ३०४ मा १९ जना चाहिं मानसिक अपाङ्गहरू रहेका छन् ।



७.३.२ वृद्धवृद्धाहरूको अवस्था


घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार यस नेचासल्यान गाउँपालिकामा, ७० वर्ष उमेर नाघेका ४.८० प्रतिशत (७४६ जना) वृद्धवृद्धाहरू रहेका छन् । शारिरीक जीर्णताका कारण परिवारजनहरूको समेत पर्याप्त हेरचाह नपुग्ने यो समुदायको सामाजिक अवस्था अत्यन्त कष्टप्रद रहेको छ । वृद्धवृद्धाहरूलाई सेवा पु¥याउन यस गाउँपालिकामा वृद्धाश्रम को अभाव रहेको छ । वृद्धहरूको मनोरञ्जनका लागि कुनै विशेष स्थल वा कार्यक्रमको निर्माण वा तयारी देखिदैन । पश्चिमी संस्कृतिको प्रभावले हाम्रो संस्कृतीको मूल मर्म र वृद्धजन तथा नयाँ पुस्ताबीचको पारस्परिक सुमधुर सम्बन्धलाई तहसनहस पार्ने खतरा बढ्दै गएको छ ।

यस गाउँपालिकामा अर्ध वृद्धावस्थाकै हाराहारिकोमा रहेको ६१-७० बर्षको ५.४६ प्रतिशत (८४७ जना) , र ७० भन्दा माथि गरी जम्मा ३.१९ प्रतिशत (४९६ जना) र थप वृद्ध नागरिकहरूको लागि समेत राज्यले कुनै विशेष कार्यक्रम ल्याएको छैन । यस स्थितिलाई कसरी सहज बनाउने र गाउँमा जीवित यी जेष्ठ नागरिकहरूको अमूल्य अनुभवबाट नयाँ पिढीले कसरी अनुभव र शिक्षा प्राप्त गर्ने भन्नेबारे अध्ययन र योजना बनाउनुपर्ने देखिन्छ ।




७.४ महिला तथा बालबालिका


७.४.१ महिला सम्बन्धी विवरण


कुल जनसंख्याको आधाभाग ओगटेको नेपाली महिलाहरूको स्थिति अझै पनि उपेक्षित अवस्थामा रहेको पाइन्छ । महिलाहरूको विषय संवेदनशिल विषय भएको कुरालाई हाम्रो देशमा मात्र नभएर विश्वमा नै गहन रुपमा लिन थालिएको छ । महिलाहरूको विकासको लागि संयुक्त राष्ट्रिय संघले सन् १९८१ मा एउटा सन्धिपत्र जारी गरेको थियो जसमा महिलाका राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, खेलकुदसम्बन्धी अधिकारहरु उल्लेख गरिएको छ । यस विषयमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । यिनै विषयमा तथ्याङ्कहरूको अध्ययन र विश्लेषण गरी समस्याहरूको पहिचान गर्नुपर्ने देखिन्छ । जबसम्म महिलाहरू उत्पादनमूलक कार्यमा संलग्न रहदैनन् तबसम्म देशको आर्थिक अवस्था बढ्दैन भन्ने कुरा सर्वविदितै छ । यसै उद्देश्यलाई लिएर समयसमयमा एकल महिला सुरक्षा कोष कार्यक्रम संचालन हुँदै आएको छ । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ अनुसार नेचासल्यान गाउँपालिमा महिलाको संख्या ४९.७५ प्रतिशत (७७२५ जना) रहेको छ ।

महिला हक, अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारी निकायहरुबाट कामहरू शसक्त रूपमा भईरहेको छ । अझ नेपालको संविधानमा २०७२ मा महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ । नेपालको संविधान २०७२ को भाग ३ को धारा ३८ ले देहाय बमोजिमको महिलाको हक सुनिश्चित गरेको छ ।

• प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ ।
• प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ ।
• महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक,मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
• राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।
• महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।
• सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।

हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ अनुसार नेचासल्यान गाउँपालिकामा हालसम्म ११.२२ प्रतिशत (८६७ जना) महिलाहरु विभिन्न महिला संस्थाहरुमा आबद्ध छन् ।



७.४.२ बालश्रमको अवस्था


बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो । नेपालमा कानुनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरू तोकेको छ । १३ वर्ष उमेर नपुगेका बालबालिकाहरूलाई श्रमिकका रुपमा काममा लगाउन हुदैन भने १४ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई खासखास क्षेत्रको हल्का र विशेष सुविधाका काममा लगाउन पाइन्छ । कुनै पनि बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन पाइदैन । तथापि सुरक्षित वातावरणमा नयाँ–नयाँ कुरा सिक्ने, जान्ने, पढ्ने, बुझ्ने उमेरमा नेपालका धेरै बालबालिकाका बालश्रमिकका रुपमा काम गर्न बाध्य छन् । आफ्ना बालापनलाई कडा श्रमसँग साटिरहेका छन् । काम गर्नु पर्नाले शिक्षाबाट बञ्चित हुनु देखि शोषण र दुव्र्यवहारबाट धेरै बालबालिका पिडित भएका छन् । नेपालमा बालश्रमका बारेमा विभिन्न विषयगत क्षेत्रहरूमा साना–ठुला अध्ययन भए तापनि आवधिक, एकिकृत, आधिकारिक तथ्यांक तथा जानकारीको भने अभाव छ ।

बालश्रम नेपाली बालबालिकाको एक दुःखद यथार्थ हो । बालबालिकालाई श्रममा लगाइनु बालअधिकार विपरित कार्य हो । बालश्रम नेपालको संविधानले पनि रोक लगाइको छ भने बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६, श्रम ऐन २०४८ लगायत कानुनी व्यवस्थाहरू विद्यमान छन् । यसैगरी नेपालले राज्य पक्षका रुपमा अनुमोदन गरिसकेको संयुक्त राष्ट्रसंघका बाल अधिकार सम्बन्धि महासन्धि, १९८९, अन्तराष्ट्रिय श्रम संगठनको रोजगारीको न्युनतम उमेर सम्बन्धी महासन्धी नं. १३८ तथा निकृष्ट प्रकारको बालश्रमसम्बन्धी महासन्धी नं. १८२ तथा सिफारिश नं. १९० ले पनि राज्यलाई बालश्रमविरुद्ध थप उत्तरदायित्व बहन गर्न प्रेरित गरेको छ ।

नेचासल्यान गाउँपालिकाका पिडीत बालबालिकालाई उद्दार गर्ने लक्ष्य सहित गाउँमा संचालन गरिएको बाल उद्धार कोष कार्यक्रमबाट सहायता प्रदान गरिएका बालबालिकाको संख्या २०१ रहेको छ जसको लागी आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाले रु. ८,६१,४००/- खर्च गरेको छ ।



७.४.३ बाल विकास केन्द्र


नेचासल्यान गाउँपालिकामा हालसम्म १ वटा मात्र बालबिकास केन्द्र रहेको छ ।



७.४.४ बाल क्लव/बाल सञ्जाल


बालबालिकाहरू संगठित भई आफुसँग सरोकार राख्ने विषयमा छलफल गर्न, प्रतिनिधित्व गर्न र आफ्नै क्षमता विकास, सचेतना लगायत बाल अधिकारको संरक्षण, प्रवर्द्धनमा विविध क्रियाकलाप गर्न नेपालमा बाल–समूह, बाल क्लव, बालअधिकार मञ्च, आदिका रुपमा बालबालिकाहरु क्रियाशिल रहेका छन् । बालक्लब, बाल–सहभागिताको एक शसक्त माध्यम बनेको छ । जसलाई बालबालिकासँग सम्बन्धित थुप्रै नीतिगत दस्तावेजहरुमा पनि उल्लेख गरिएको छ । बालबालिकाहरूलाई समूहमा आबद्ध गराउन र उनीहरूसँग सरोकार राख्ने विषयमा मत व्यक्त गर्नका लागि विभिन्न स्तरका नीति तथा योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म बालक्लबको प्रतिनिधत्वलाई मान्यता दिइएको छ ।




७.५ शान्ति सुरक्षा


सुरक्षा निकायमा प्रत्यक्ष सुरक्षा जिम्मेवारीभित्र रहेको यस गाउँपालिकाका विभिन्न सामाजिक समस्याहरूको उजुरी पर्ने गरेको छ । गाउँमा सानातिना झैझगडा, कुटपिट, साँध/सिमानामा विवाद, चोरी डकैती, ठगी, घरेलु हिंसा घटनाहरू भएको स्थानीयबासीको भनाई छ । सुरक्षा चुनौतीको सामाना गरी भविष्यमा हुन सक्ने घटनाको न्यूनीकरणका लागि प्रहरी कार्यालयसँग थप सवारी साधन हुनुपर्ने, महिला ब्यारेकको व्यवस्था हुनुपर्ने, महिला हिरासत अलग्गै बनाउनु पर्ने, प्रहरी कार्यालयहरूको ब्यारेक नयाँ निर्माण गर्नुपर्ने र पुराना ब्यारेक बेलाबेलामा मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ । गाउँपालिकामा एउटा इलाका प्रहरी कार्यालय र एउटा प्रहरीचौकी रहेका छन् र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न प्रहरीहरु अहोरात्र खटिरहेका छन् ।




७.६ अपाङ्गताको विवरण


हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ अनुसार नेचासल्यान गाउँपालिकामा अपाङ्गताको अवस्थालाई हेर्दा अपाङ्गता भएको जनसंख्या ३०४ जना (कूल जनसंख्याको १.९६ प्रतिशत) रहेको छ । जसमा शरिरीक अपाङ्गता भएका १९९ जना (६५.४६ प्रतिशत), दृष्टि सम्बन्धी अपाङ्गता भएका २९ जना (९.५३ प्रतिशत), बोल्न नसक्ने २६ जना (८.५५ प्रतिशत), सुन्न नसक्ने समस्या भएका १८ जना (५.९२ प्रतिशत), सुस्त-मनस्थिती भएका १९ जना (६.२५ प्रतिशत) देखिन्छन् भने अटिजम भएका २ जना (०.६६ प्रतिशत) र अन्य ११ जना (३.६२ प्रतिशत) रहेका देखिन्छन् । खासगरी व्यक्तिहरूमा अपाङ्गता हुने कारण आयोडिनयुक्त नुनको प्रयोगको कमी, ग्रामीण क्षेत्रमा मुख नधुने समस्याका कारण उत्पन्न रोग, दुर्घटना, जन्मजात, प्राकृतिक प्रकोप, कुपोषण, स्वास्थ्य उपचार नपाएर, द्वन्द्व वा युद्ध वा विस्फोटक पदार्थको प्रयोग आदि देखिएका छन् जसलाई घटाउन प्रतिरोधात्मक र उपचारात्मक दुवै कार्यहरू गरिनुपर्दछ ।

नेपालले अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूको हक हित र अधिकारको संरक्षण एवं संवर्द्धन र विकास गर्न १९ वटा क्षेत्रलाई समेटी अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र अपाङ्गतासम्बन्धी कार्ययोजना, २०६३ तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यसै गरी २०६६ पुस १२ गते नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी, २००६ लाई अनुमोदन गरेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत (५,१२,३२१ जना) जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ । जसमध्ये शारिरीक अपाङ्गता ३६.३ प्रतिशत, दृष्टिबिहीन १८.५ प्रतिशत, मानसिक अपाङ्गता ६ प्रतिशत, बौद्धिक अपांगता २.९ प्रतिशत, बहु अपांगतामा ७.५ प्रतिशत रहेको छ । सरकारले अपाङ्गता परिचयपत्र वितरण निर्देशिकासमेत जारी गरी वितरण गरिरहेको छ । अपाङ्गता परिचयपत्र वितरण गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई अपांगताका आधारमा शारिरीक अपाङ्गता, दृष्टिविहीन र न्युन दृष्टियुक्त, स्वरबोलाइ सम्बन्धी अपाङ्गता, सुस्त श्रवण र बहिरा, श्रवण दृष्टिविहिनता, मानसिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहुअपाङ्गता गरी सात किसिमले र गम्भीरताका आधारमा तह क (रातो रङको परिचयपत्र), तह ख (नीलो रङको परिचयपत्र), तह ग (पहेलो रङको परिचयपत्र) र तह घ (सेतो रङको परिचयपत्र) गरी चार तहमा विभाजन गरी परिचय पत्र वितरण गर्ने कार्य सुरु गरिएको छ । यस नेचासल्यान गाउँपालिकाको तर्फबाट पनि अबदेखि अपाङ्गता परिचयपत्र जारी गर्ने गरी कार्यविधि समेत पास गरिसकिएको छ ।

हालसम्म यो समुदायको सामाजिक आर्थिक अवस्थामा परिवर्तन ल्याउन केही सामान्य आयमुलक र सिपमुलक तालिमहरू सञ्चालन गरिएता पनि यिनीहरूको आत्मविश्वासलाई बढाउन र समुदायबाट हुने गरेको उपेक्षाबाट मुक्त राख्न स्थानीय स्रोत साधान र निकायहरूमा यो समुदायको पहूँच पु¥याउन विभिन्न कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।


तालिका नं. ७.७ : अपाङ्गताको विवरण



७.७ सामाजिक सुरक्षा भत्ता


यस नेचासल्यान गाउँपालिकामा आर्थिक बर्ष २०७४/७५ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको संख्याको विवरण तलको तालिकामा देखाइएको छ ।

तालिका नं ७.८ : आर्थिक बर्ष २०७४/७५ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको संख्याको विवरण





७.८ खानेपानी तथा सरसफाई


७.८.१ परिवारले प्रयोग गर्ने पिउने पानीको मुख्य श्रोतको विवरण


तालिका नं. ७.९ : परिवारले प्रयोग गर्ने पानीको मुख्य श्रोत


माथिको तालिकमा नेचासल्यान गाउँपालिकाका परिवारहरूले प्रयोग गर्ने पानीको मुख्य श्रोतको तथ्याङ्कलाई देखाइएको छ । जस अनुसार सबैभन्दा बढी परिवारले प्रयोग गर्ने पानीको श्रोतमा धारा रहेको छ । गाउँपालिकाको कुल घरपरिवारको ८०.७२ प्रतिशत अर्थात् २,०४० घरधुरीले धारालाई प्रमुख पानीको श्रोतको रुपमा लिएका छन् । दोस्रोमा कुवाको पानी प्रयोग गर्ने घरधुरी ३३८ (१३.३८ प्रतिशत), तेस्रोमा नदीको पानी प्रयोग गर्ने घरधुरी ११९ (४.७१ प्रतिशत), चौथोमा मूलको पानी प्रयोग गर्ने घरधुरी २४ (०.९५ प्रतिशत) र अन्य स्रोतको पानी प्रयोग गर्ने घरधुरी ६ (०.२४ प्रतिशत) रहेका छन् । जसको विस्तृत विवरण माथिको तालिकामा देखाइएको छ ।



७.८.२ वडागत खानेपानीको विवरण


तालिका नं. ७.१० : वडागत खानेपानीको विवरण


माथिको तथ्यांक अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी धाराको पानी प्रयोग गर्ने घरपरिवार ८०.७२ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा कम मूलको पानी प्रयोग गर्ने परिवार ०.९५ प्रतिशत र अन्य स्रोतको पानी प्रयोग गर्ने परिवार ०.२४ प्रतिशत रहेको छ । जसलाई वडागत रुपमा हेर्दा १, ३, ४ र ५ वडामा धाराको पानी प्रयोग गर्ने घरपरिवार बढी रहेको देखिन्छ भने वडा नं. २ मा कुवाको पानी प्रयोग गर्ने परिवार धेरै रहेको छ ।



७.८.३ खानेपानीको अभाव


नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी राष्ट्र हुँदाहुँदै पनि कतिपय नेपाली जनताहरु खानेपानीको अभावको समस्याबाट गुज्रिरहेका छन् । यसै परिवेशमा यस नेचासल्यान गाउँपालिकामा पनि खानेपानीको अभाव रहेको छ । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार यस गाउँपालिकामा १,२३५ परिवारहरु खानेपानीको समस्याबाट गुज्रिरहेका छन् ।



७.८.४ शौचालयको विवरण


तालिका नं. ७.११ : शौचालयको प्रकार


माथिको तालिकामा नेचासल्यान गाउँपालिकाको घरपरिवारले प्रयोग गर्ने शौचालयको प्रकारलाई उल्लेख गरिएको छ । सबैभन्दा धेरै, पक्कि शौचालय प्रयोग गर्नेको संख्या २,०८१ (७५.६५ प्रतिशत) रहेको छ । दोस्रोमा कच्चि शौचालयको प्रयोग गर्नेको संख्या ६२८ (२२.८३ प्रतिशत) र खाल्टो भएको शौचालयको प्रयोग गर्ने परिवारको संख्या ६ (०.२२ प्रतिशत) देखिएको छ । यसैगरी केहि घरमा शौचालय नभएको पाइएको छ जुन जम्मा घरपरिवार संख्याको १.३१ प्रतिशत अर्थात् ३६ घरपरिवार शौचालय विहिन रहेको देखिन्छ । यसलाई तलको वृत्त चित्रबाट स्पष्ट रुपमा देख्न सकिन्छ ।



७.८.५ खुला दिसामुक्त क्षेत्र


राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकामा समावेश भएका साविकका गा.वि.स.हरुमा ८४.३४ प्रतिशत घरपरिवारको आफ्नो शौचालय थिएन । जिल्ला खानपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, साविकका गा.वि.स., स्थानीय राजनीतिक दल, नागरिक समाज आदिको सहयोग र नेपाल रेडक्रस सोसाईटी, पास नेपाल, डिडिएस जस्ता संस्थाको सहभागिता र समन्वयमा मिति २०७२ पौष १२ देखि २०७३ जेष्ठ २५ बिचका विभिन्न मितिमा यस गाउँपालिका मा समावेश भएका साविकका गा.वि.स.हरूमा शतप्रतिशत घरधुरीमा शौचालय निर्माण गरिएकोले खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो ।




७.९ फोहोरमैला व्यवस्थापन


गाउँपालिका लाई सधैँ सफा राखि वातावरण मैत्री घर, टोल, बस्ती, समाज बनाउने हेतुले राष्ट्रिय सरसफाई अभियानलाई निरन्तरता दिने क्रममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, टोल सुधार समाज र विपद व्यवस्थापन समितिको अगुवाई र सहकार्यमा टोल तथा वडास्तरमा कैयौ पटक अभियानको रुपमा संचालन भएको पाइन्छ । यसबाट आम गाउँपालिका बासीहरुमा व्यापक रुपमा सरसफाई जागरणको लहर फैलिएको छ ।

नेचासल्यान गाउँपालिकामा फोहरमैला व्यवस्थापन एवं पूर्वाधार विकास तर्फ सतह ढल निर्माण, ठोस र तरल फोहोर व्यवस्थापनका लागि कार्ययोजना तयार गरी लाग्ने खर्च रकम छुट्याएको छ । यस गाउँपालिकामा फोहोरमैला व्यवस्थापनको लागि विविध उपायहरु अपनाइएको पाइन्छ जसमध्ये थुपार्ने, कम्पोस्ट बनाउने, नदीमा फाल्ने तथा अन्य उपायहरु विशेषगरि अपनाइएको पाइन्छ । थप उपकरणहरुको व्यवस्थापन गर्न र व्यवस्थित ल्याण्डफिल साइट निर्माण गर्न अझैँ लाग्नु पर्ने देखिन्छ ।

तालिका नं. ७.१२ : फोहोरमैला व्यवस्थापनका लागि अपनाइएका उपायहरुको विवरण


हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार यस गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका लागि फोहोर थुपार्ने उपायलाई सबैभन्दा बढी अर्थात् १,५८४ घरधुरीका मानिसहरुले अपनाएको पाइन्छ । दोस्रोमा कम्पोस्ट बनाउने उपायलाई ५७८ घरधुरीका मानिसहरुले अपनाएको पाइन्छ । त्यसैगरी, फोहोर नदीमा फाल्ने घरधुरी संख्या २३७ र अन्य उपाय अपनाई फोहोरमैला व्यवस्थापन गर्ने घरधुरी संख्या ३५० रहेको छ ।